जडिबुटी लोप हुँदा स्थानीयलाई गुजारा चलाउनै धौधौ

जनता संवाददाता
२०८१ माघ २४ गते, बिहीबार

मुगु । जडिबुटी उत्पादनको धनी जिल्ला भनेर चिनिने मुगुमा यसको उत्पादनमा कमी आएको छ । जिल्लाका पाटनक्षेत्र र सामुदायिक वनमा जडिबुटीहरु कम पाइन थालेपछि यसमा निर्भर स्थानीयको आम्दानी घट्दै गएको छ ।

जिल्लाको सोरु गाउँपालिका, खत्याड गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र मुगमकार्मारोग गाउँपालिकाका सामुदायिक वन र पाटनक्षेत्रमा पाइने गुच्चि च्याउ, कटुकी, यार्सागुम्बा ,अतीस, वन लसुन, बिषजरा, पदमचाल, सेतक चिनी, सुगन्धवाल, सुनपाती, पाँचऔले, सतुवा जस्ता जडिबुटी पर्याप्त मात्रामा नपाइएपछि यसमै निर्भर भएकाहरुको दैनिक घरखर्चको जोहो गर्न समेत गाह्रो परेको हो ।

छायाँनाथ रारा नगर पालिका वडा नं ६ का धर्म बहादुर ऐडीका अनुसार आफूहरुको प्रमुख आय स्रोत भनेकै जडिबुटी भएको र अहिले यसको उत्पादन कम भएपछि समस्या परेको बताउँछन् । ‘जडिबुटी बिक्रीबाट घरखर्च ,बालबालिकालाई पढाइ देखि औषधी खर्च सम्म सहजै पुग्थ्यो तर पछिल्लो समय दुइ तीन बर्ष यता पाटन क्षेत्र र जङ्गलमा जडिबुटी उप्तादनमा कमि भएको छ’ उनले भने, ‘जडिबुटीले नै घरपरिवार धानेको जिवन जडिबुटीमा काम नपाएपछि घरपरिवारको जोहो गर्नलाई छिमेकी राष्ट्र भारत जानुपने अवस्था आएको छ ।’

छायाँनाथ रारा नगरपालिका १० नं वडाका स्थानीय बिर्ष बहादुर बुढाका अनुसार पटान र जङ्गलमा जडिबुटी उत्पादनमा कमि आएपछी घरको अन्य आम्दानी स्रोत नभएकाले सुर्खेतमा सात कक्षा सम्म सामुदायिक विद्यालयमा पढाउदै गरेको छोरा नयाँ शैक्षिक सत्रबाट मुगुमै पठाउने योजनामा रहेको बताउँछन् ।

स्थानीय जडिबुटी व्यापारी पंच बहादुर ऐडीले ग्रामिण बस्तीमा पहिलेको जस्तो गरि पर्याप्तमात्रामा जडिबुटी नपाउने गरेको बताउँछन् ।

प्रकाशित मिति : २०८१ माघ २४ गते, बिहीबार


Scroll to Top

Janata Media