रिङरोडभित्र २ महिनासम्म प्रदर्शनमा रोक, कोटेश्वर, बल्खु र सिफलमा मात्र प्रदर्शन गर्न पाईने

जनता संवाददाता
२०८२ जेष्ठ १८ गते, आईतवार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार (जेठ १९ गते) देखि लागू हुने गरी आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएको छ।

अत्यावश्यक सेवा प्रवाह, शान्ति सुरक्षा र सार्वजनिक यातायातमा अवरोध पुगेको भन्दै प्रशासनले तीन स्थानबाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको हो।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा हुने विरोधका कार्यक्रमले अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न गरेको, जनगुनासो बढेको तथा सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पार्ने अवस्था देखिएकाले यस्तो निर्णय लिइएको उल्लेख छ।

जिल्ला सुरक्षा समितिको सिफारिस र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम यो आदेश जारी गरिएको हो।

आदेशअनुसार, सिफल चौर क्षेत्र, कोटेश्वर आकासे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा भने विरोधका कार्यक्रम गर्न पाइनेछ।

यी तोकिएका स्थानबाहेक अन्यत्र भेला, जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न पूर्णतः निषेध गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते, आईतवार


Scroll to Top

Janata Media