शनिबार सार्वजनिक सुनुवाइ गर्दै छायाँनाथ रारा नगर

जनता संवाददाता
२०८२ जेष्ठ ३० गते, शुक्रबार

मुगु, जेठ ३० । मुगुको छायाँनाथ रारा नगरपालिकाले स्थानीय सरकारको कामकारबाहीमा पारदर्शिता र जबाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।

नगर प्रमुख र अन्य जनप्रतिनिधिले नागरिकका प्रश्नको प्रत्यक्ष जवाफ दिने गरी शनिबार बिहान कार्यक्रम आयोजना गरिएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै भोली जेठ ३१ गते शनिबार बिहान ७:३० बजे जिल्ला वन कार्यालय अगाडिको खुल्ला सडकमा कार्यक्रम गरिने जनाएको छ।

नागरिक र सरकारबीचको दूरी घटाउने र सुशासनको अनुभूति दिलाउने प्रयास स्वरूप कार्यक्रम हलभन्दा बाहिर सडकमै गर्न लागिएको हो।

नगर प्रमुख विष्णु कुमार भामद्वारा हस्ताक्षरित सूचनामा चक सञ्चार मिडिया नेटवर्क प्रा.लि.को अनुरोधमा कार्यक्रम आयोजना गरिएको उल्लेख छ।

‘स्थानीय सरकारलाई जनताप्रति जबाफदेही बनाउने र नागरिकलाई आफूप्रति कर्तव्य बोध गराउने उद्देश्यले संवाद कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’  सूचनामा भनिएको छ।

नगरपालिकाले सम्पूर्ण नगरवासी तथा सरोकारवाला निकायहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना जिज्ञासा, गुनासा र सुझाव राख्न अनुरोध गरेको छ।

कार्यक्रमले नगरपालिकाको ‘सुशासन, पारदर्शिता, जबाफदेहिता” र ‘भ्रष्टाचारमुक्त नगरपालिका’ बनाउने प्रतिबद्धतालाई व्यवहारमा उतार्न सघाउ पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते, शुक्रबार


Scroll to Top

Janata Media