काठमाडौं । उत्तरी गोरखाको धार्चेको–३ खोर्लाबेशीमा नवनिर्मित बेलिबृज पुलको उद्घाटन गरिएको छ । तिब्बती सीमा जोड्ने लक्ष्यकासाथ नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट लार्के सडकको खोर्लाबेशीस्थित निम्रुङ खोलामा निर्माण गरिएको पुल आईतबार उद्घाटन गरिएको हो ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र टाईमस ईनर्जी प्रालिका अध्यक्ष हिम पाठकले बेलिबृज पुलको संयुक्त रुपमा उदघाटन गरेका हुन् । सो पुल निर्माण सम्पन्न भएपछि धार्चे र चुमनुब्रीका स्थानियबासी खुशी भएका छन् ।
पुल उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले उत्तरी गोरखाको लाईफ लाइनको रुपमा रहेको सो पुल निर्माण गरेकोमा टाईम्स ईनर्जी कम्पनीलाई समयमै सम्पन्न गरिदिएकोमा धन्यबाद व्यक्त गरे ।
चुमनुब्री गाउँपालिका जोड्ने मुख्य ठाउँ भएकाले पनि निमरुङ खोला माथि २० मिटर लम्बाई र ८।४० मिटर चौडाई लामो बेलिबृज पुल निर्माण आवश्यक ठाउँमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
बेलिबृज पुल निर्माणसँगै उत्तरी गोरखाको धार्चे गाउँपालिकादेखि चुमनुबी गाउँपालिकाका स्थानिय बासिन्दा लगायत आन्तिरिक तथा बाह्रय पर्यटकलाई सडक बाटो भएर आबतजाबत गर्न निकै सहज हुने धार्चे गाउँपालकाका अध्यक्ष लक्ष्मण गुरुङको विश्वास छ ।
उत्तरी गोरखाका स्थानीयहरु गोरखा सदरमुकामसम्म पुग्न बर्खाको बेला निमरुङ खोला तर्न नसकेर सवारीसाधनहरु ठप्प हुनुपरेको अवस्था थियोू, अध्यक्ष गुरुङले भने, अब उत्तरी गोरखाको तातोपानीको दोभानसम्म ढुक्कले हिउँद वर्खा सवारीसाधन चल्छ ।
उक्त पुल निर्माणले उत्तरी गोरखा, गोरखा सदरमुकाम र काठमाडौलाई सहजै जोड्न सक्ने भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारको भनाइ छ ।
बेलिबृज पुल निर्माण भएपछि १२ महिना सवारीसाधन आवतजावतमा सहज हुनुका साथै चुमनुब्रीबासीलाई सवारीसाधन चढ्न धार्चेको माछीखोला आउनु पर्ने बाध्यता हटेको बताइएको छ ।
धार्चे गाउँपालिका र टाईमस इनर्जी प्रालि बीच २०८० साल पुस ९ गते ५ करोड लगानीमा बेलिबृज निर्माण गरिदिने समझौता भएर काम अघि बढेको थियो ।
टाईम्स इनर्जी कम्पनीले २०८२ साल असोज मसान्तभित्र समपन्न हुने गरी सम्झौता भएतापनि साउनको तेस्रो हप्ता भित्र सम्पन्न गरी आइतबार उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ ।







