देश बनाउने कर्मठ युवा जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छः अध्यक्ष ओली

जनता संवाददाता
२०८२ आश्विन ७ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवा जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्तालाई सम्बोधन गर्दै उनले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष ओलीले भने, “हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ। असभ्य र गैह्रजिम्मेवार हुनु हुँदैन। देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरुले काम गर्नुपर्छ। युवाहरु हावामा कुद्न हुँदैन।”

उनले जेनजी प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गरे।

अध्यक्ष ओलीले भने, “बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन। साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन। बिहानी पनि आउँछ। उज्यालो हुन्छ। हामीले हरेस खानु हुँदैन।”

प्रकाशित मिति : २०८२ आश्विन ७ गते, मंगलवार


Scroll to Top

Janata Media