शिक्षामन्त्री पुनको निर्देशन अनुरुप बास मन्त्रालयमै मिलाइयो

जनता संवाददाता
२०८२ आश्विन ८ गते, बुधबार

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि लैनचौरस्थित केशरमहलमा कार्यकक्ष र आवास एकै साथ व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार मन्त्री पुन मङ्गलबार साँझदेखि नै केशरमहलमा बस्न थालेका छन् । सिंहदरबारभित्र रहेको मन्त्रालयको भवन असोज २४ गते जेनजी समूहको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएपछि तत्कालका लागि मन्त्रालयको काम केशरमहलबाट सुरु गरिएको हो ।

मन्त्री पुनले सोमबार केशरमहलको कार्यकक्षबाटै कार्यभार सम्हालेका थिए । कार्यभार सम्हाल्ने क्रममा उनले काम जहाँ हुन्छ, त्यहीँ सुत्ने आफ्नो बानी रहेको बताउँदै मन्त्री पदमा रहुन्जेलसम्म आफूलाई सुत्ने, बस्ने व्यवस्था पनि केशरमहलमै मिलाउन कर्मचारीलाई निर्देशन दिएका थिए ।

मन्त्री हुनुअघि उहाँ कीर्तिपुरस्थित राष्ट्रिय अविष्कार केन्द्रमा बस्दै आएका थिए । मन्त्री नियुक्त भएपछि सोमबार पनि उनी केन्द्रमै बसेका थिए । मन्त्रीकै निर्देशन अनुसार मङ्गलबारदेखि भने केशरमहलमै कार्यालयसहित आवासको पनि व्यवस्था मिलाइएको हो ।

मन्त्रालयमा मन्त्री पुनका लागि कार्यकक्षनजिकै एउटा सुत्ने कोठा तथा एउटा भान्साको व्यवस्था गरिएको छ । साथै उनको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीका लागि पनि आवास व्यवस्था मिलाइएको मन्त्रालयका उपसचिव सुशीला अधिकारीले बताए ।

केशरमहलमा शिक्षा मन्त्रालयले ठाउँ उपलब्ध गराएको भए पनि आवासका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन तथा सजावटका काम भने सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको हो । सोही कार्यालयले आवासका लागि आवश्यक पर्ने खाट, लत्ताकपडा तथा भान्साका लागि आवश्यक सामग्री मिलाएको हो ।

पुनले हालसम्म सचिवालयमा कर्मचारी नियुक्त गर्नुभएको छैन । हाललाई भान्सामा काम गर्नका लागि मन्त्रालयकै कार्यालय सहयोगी खटाइएको छ । शिक्षा मन्त्रालयकै स्वामित्वमा रहेको केशरमहलमा हाल केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमनको कार्यालय रहेका छन् । हाल ती कार्यालयको स्थानलाई खुम्च्याएर मन्त्रालयका लागि पनि स्थान जुटाइएको हो । जसकारण हाललाई काम चल्ने गरी मात्रै मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारीका लागि स्थानको प्रबन्ध मिलाइएको छ ।

शिक्षा मन्त्रालय सिंहदरबारमा सर्नुअघि पनि केशरमहलमै थियो । जेनजी समूहको आगजानी तथा तोडफोडबाट बिग्रेका सिंहदरबारको भवन प्रयोग गर्न मिल्ने भएपछि फेरि त्यहीँ सर्ने मन्त्रालयका सचिव चूडामणि पौडेलले बताए ।

प्रकाशित मिति : २०८२ आश्विन ८ गते, बुधबार


Scroll to Top

Janata Media