काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् ।
विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेका हुन् । मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ ।
उनले यसअघि गर्दै आएको सहअध्यक्ष पदको दावीबाट पछि हट्ने संकेत दिएका छन् । हालसम्मको समझदारी कार्यान्वयन भए उनी हाल रहेका ६ उपाध्यक्षभन्दा माथिल्लो वरीयतामा देखिनेछन् ।
स्रोतका अनुसार असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि यो प्रक्रियाले औपचारिकता पाउनेछ । एकता प्रक्रियामा मिश्रसँग को–को सहभागी हुने भन्ने स्पष्ट भइसकेको छैन ।