सहकारी ठगीको विरोध गर्न कांग्रेस सडकमा उत्रने

जेठ १३ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

जनता संवाददाता
२०८१ जेष्ठ ९ गते, बुधबार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

पार्टीको बुधबार सानेपास्थित मुख्यालयमा बसेको पार्टी केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले यही जेठ १३ गते अपराह्न दिनको २ बजे काठमाडौंको प्रर्दशनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो।

पार्टीको काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन पार्टीको भ्रातृ संगठन र सिंगो पार्टी पंक्तिलाई सो प्रदर्शनमा उपस्थिति पनि बैठकले आह्वान गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।

कांग्रेसले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको विरोध र पीडितको पक्ष र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न सो विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्न लागिएको पनि उनले बताए।

नेपाली कांग्रेसले सरकारले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिर हियालाई पक्राउ गरेको जिकिर गर्दै त्यसप्रति निन्दा र भर्त्सना पनि गरेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते, बुधबार


Scroll to Top

Janata Media