एमालेको सांसदहरुलाई बिदाइ कार्यक्रम

जनता संवाददाता
२०७९ आश्विन १ गते, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गरेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदलाई बिदाइ गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको सूची बोकेर निर्वाचनमा जान निर्देशन दिए ।

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको प्रमुख सचेतक भट्टराईले बताए । अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहकासाथ एमालेलाई वहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेतालाई आग्रह गरे।

संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भने, “आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका संसदीय दलका नेताको अध्यक्षतामा दलको बैठक बसेर हामीले प्रतिनिधि सभाका सांसदलाई बिदाइ गरेका छौँ ।” अध्यक्ष ओलीले हाम्रो नेतृत्वको सरकारमा बसेका बेलामा गरेका कामको फेहरिस्त बोकेर कार्य क्षेत्रमा खट्न निर्देशन दिनुभएको उनले जानकारी दिए ।

गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामलाई चुनावी घोषणापत्रमा समेटी नयाँ उत्साहकासाथ जनताको बीचमा जान अध्यक्ष ओलीले निर्देशन गर्नुभएको भट्टराईको भनाई छ । सो अवसरमा अध्यक्ष ओलीले सबै सांसदहरुलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद पनि व्यक्त गरे ।

 

प्रकाशित मिति : २०७९ आश्विन १ गते, शनिबार


Scroll to Top

Janata Media