काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।
मध्य तथा पूर्वी तराईका एक/दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।
हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हुम्ला सहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिहिबार रातिदेखि हिमपात सुरू भएको छ । हिमपात सुरु भएसँगै अत्याधिक जाडो बढेको छ । जीवन कष्टकर बनेको छ ।
आज दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ । राति पनि हिमपातको सम्भावना हरेको छ ।
महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भू(भागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।