अदालतको पूर्ण पाठ : पीडितले बयान फेरेकै कारण पलले पाए बलात्कार मुद्दामा सफाइ

जनता संवाददाता
२०७९ आश्विन ८ गते, शनिबार

काठमाडौं । पीडित किशोरीले बयान फेरेकै कारण अभिनेता पल शाहले पाए बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो । जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । बलात्कार आरोपकै अर्को मुद्दा तनहँुमा विचाराधीन भएकाले उनी जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ । पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी पर्यो । जिल्ला अदालत, नवलपुरले शाहलाई बलात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो ।

पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन । त्यसैले सामान्य अवस्थामा करणीको कसूरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन् । जबरजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ ।’

अभिनेता पल शाहमाथि लगाइएको आरोप किशोरीको तर्फबाट शंकारहित रूपमा पुष्टि गरिएको हुनुपर्ने भन्दै फैसलामा भनिएको छ— ‘प्रतिवादको इन्कारी बयानलाई जाहेरवाला एवं स्वयं पीडितको अदालतसमक्षको बकपत्रबाट समेत पुष्टि भइसकेको अवस्थामा पल शाहमाथि लगाइएको अभियोग बाहेक किशोरी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण अदालतसमक्ष पेश गर्न सकेको देखिंदैन ।’ यसरी हेर्दा पीडित किशोरीले अदालतमा उपस्थित भएर दिएकै बयानका कारण पलले सफाइ पाएको प्रष्ट हुन्छ ।

पीडितमाथि गरेको व्यवहार र अडियो संवादलाई यौनजन्य अस्वाभाविक व्यवहार ठहर गर्दै जिल्ला अदालतले पल शाहमाथि बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो ।

मुलुकी अपराध संहिताको दफा २२५ ९३० अनुसार बाल यौन दुरुपयोगमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्छ । फैसलामा भनिएको छ, ‘कसूरको अवस्था र प्रतिवादीले आफू गीत–संगीत र फिल्मी क्षेत्रमा रहेर झन् संवेदनशील बनेर बाल कलाकारहरूलाई संरक्षण गर्नुपर्नेमा आफैं आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर प्रेमीको रूपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई २ वर्ष ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’

 

प्रकाशित मिति : २०७९ आश्विन ८ गते, शनिबार


Scroll to Top

Janata Media