मुलुकमा वित्तीय संकट देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०७९ फाल्गुन २ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय संकट देखिएको बताएका छन् । मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताए ।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले बैंकको ब्याजदर वृद्धिका कारणले देखापरेका समस्या समाधान गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर तत्काल व्यवसायीहरुलाई राहत दिनका निम्ति पहल भइरहेको बताए ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरिरहेको उनले बताए । वित्तीय अस्थिरताका कारण बैंकको ब्याज वृद्धि हुन गई लघु, घरेलु तथा साना उद्योगीहरुलाई परेको समस्या तत्काल समाधान गर्न सरकारले विभिन्न उपायहरु खोजिरहेको प्रचण्डको भनाइ थियो ।

लघु, घरेलु तथा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी पुनः थप कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार


Scroll to Top

Janata Media