आइफोन १४ को माग सुस्त हुँदा एप्पललाई झट्का

जनता संवाददाता
२०७९ आश्विन १५ गते, शनिबार

काठमाडौं । एप्पलले हालै आफ्नो आइफोन १४ सिरिज लञ्च गर्यो । उक्त सिरिजमा कम्पनीले चारवटा आइफोन पेश गरेको छ । निकै ठूलो अपेक्षाका साथ एप्पलले लञ्च गरेको आइफोन १४ सिरिजप्रति मानिसहरुको खासै ठूलो आकर्षण भने देखिएको छैन । जसका कारण आइफोन १४ को उत्पादन बढाउने आफ्नो योजनालाई एप्पलले तत्कालका लागि थाँती राखेको छ ।

केही फिचर बाहेक आइफोन १४ र आइफोन १३ मा भएको समानताका कारण मानिसहरु महंगो आइफोन १४ सिरिजप्रति आकर्षित नभएको हुनसक्ने बताइएको छ । दुबै आइफोन लगभग समान जस्तै छन् ।

हुन त एप्पल प्रयोगकर्ताका लागि नयाँ आइफोनमा पूरानै डिजाइन हुनु कुनै नयाँ कुरा होइन । पहिलेपनि कम्पनीले लगभग एकै डिजाइनयुक्त आइफोन लञ्च गरिसकेको छ । तर यो पटक भने आइफोनमा डिजाइनसँगै अन्य धेरै फिचर पनि समान छन् ।

आइफोन १४ मा आइफोन १३ मा भएको जस्तै डिजाइन, डिस्प्ले र प्रोसेसर रहेको छ । क्यामेरा फिचर पनि झण्डै उस्तै छ । त्यसैले कतिपयले यसलाई आइफोन १४ को साटो आइफोन १३, २०२२ संस्करण भनेर पनि टिप्पणी गरेका छन् ।

दुई फोनमा एउटा ठूलो अन्तर अवश्य छ, त्यो हो मूल्य । आइफोन १३ को मूल्य आइफोन १४ को भन्दा निकै कम छ । सोही कारण पनि मानिसहरु आइफोन १४ खरीद गर्न खासै रुची नदेखाएका बताइन्छ ।

ब्लुम्बर्गमा प्रकाशित रिपोर्ट अनुसार अपेक्षा अनुसारको माग प्राप्त नभएका कारण एप्पलले आफ्ना सप्लायरहरुलाई धेरै आइफोन उत्पादन नगर्न भनेको छ । सन् २०२२ को दोश्रो त्रैमासिकमा आइफोन १४ को उत्पादन यसअघिको योजना भन्दा ६० लाख गोटाले कम गर्ने निर्णय एप्पलले गरेको छ । एप्पलले यसअघि दोश्रो त्रैमासिकमा ९ करोड आइफोन १४ उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

तर आइफोन १४ प्रो मोडेलमा चाहीँ नयाँ प्रोसेसर, डिस्प्ले र क्यामेरा सेटअप पनि नयाँ भभएको हुँदा प्रयोगकर्ताको रोजाइमा पर्ने विश्वास एप्पलको छ । हालसम्मको रिपोर्टले आइफोन १४ प्रो मोडेलको माग अन्य मोडेलभन्दा उच्च रहेको देखाएको छ ।

प्रकाशित मिति : २०७९ आश्विन १५ गते, शनिबार


Scroll to Top

Janata Media