ठूला दलले बुझाए समानुपातिकको संशोधित बन्दसूची

जनता संवाददाता
२०७९ आश्विन १६ गते, आईतवार

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । अहिलेसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रसहित ३६वटा दलले संशोधित सूची बुझाइसकेका छन् ।

अधिकांश दलले शनिबार नै संशोधित सूची बुझाएको निर्वाचन आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरु वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार नेपाली कांग्रेसका प्रतिनिधि संशोधित सूची बुझाउन बिहान ५ बजे आयोगको कार्यालयमा पुगेका थिए ।

समानुपातिकतर्फका लागि आयोगमा ४८ दल दर्ता छन् । वाग्लेका अनुसार आइतबार सच्याउने अन्तिम दिन १२ दललाई बन्दसूची पेस गर्न पत्राचार गरिएको छ ।

संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा १७ असोजको बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सक्नेछन् ।

वाग्लेका अनुसार सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, २० देखि २२ असोजको ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : २०७९ आश्विन १६ गते, आईतवार


Scroll to Top

Janata Media