कक्षा कोठामा पानी पस्यो, चौरमा पढ्दै विद्यार्थी

जनता संवाददाता
२०८१ भाद्र २३ गते, आईतवार

हुम्ला । शनिबारको अविरल वर्षाका कारण कक्षाकोठामा पानी पसेपछि सदरमुकाममा रहेको बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी आज चौरमा पढ्न बाध्य भएका छन्।

कक्षा १, ३ र ५ का ऐच्छिक विषय पढ्ने विद्यार्थीलाई आज चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक कैलाश रोकायाले बताए।

राति आएको वर्षाले कक्षा कोठाभरि पानी पसेपछि चौरमा पठनपाठन गराएको उनी सुनाउँछन्। वर्षायाममा पानी पर्दा यी कक्षाका विद्यार्थीले प्रायः जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ।

“हरेक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ। यस विषयमा स्थानीय सिमकोट गाउँपालिकाको ध्यानाकर्षसमेत गराइएको छ। राती पानी पर्दा कक्षाकोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनिको चौरमा पठनपाठन गराउँदा बजारको होहल्लाले समस्या हुने गरेको छ”, प्रधानाध्यापक रोकायाले भने।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते, आईतवार


Scroll to Top

Janata Media