काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । यस्तै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार टीका लगाउने फरक/फरक उत्तम साइत सार्वजनिक गरेको छ ।
गत असोज ४ गते समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि बिहान ११:५१ बजे र भारतका लागि बिहान १०: ४५ बजे शुभ साइत रहेकाे उल्लेख छ । त्यस्तै न्युयोर्क अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११:११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११:५५, टेक्सासमा ११:३५ बजे, क्यालिफोर्नियामा ११:४५ बजे, वासिंटनडीसीमा बिहान ११:२५ बजे टीकाका लागि उत्तम साइत रहेको समितिले जनाएकाे छ ।
यस्तै क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११:३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११:४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९:५५, बेलायतमा बिहान ११:५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११:५५ बजे रहेको समितिले जनाएको छ ।
यसैगरी जापानकाे टोकियोका लागि अक्टोबर ५ मा बिहान १०:३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०:५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१, मेलबर्नमा बिहान १०:५५ बजे, ब्रिसबेनमा बिहान ११:०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०:२५ बजे, सिंगापुरमा बिहान ११:२७ बजे, थाइल्यान्डमा बिहान १०:२१ बजे, हङकङमा बिहान १०:५५, दक्षिण कोरियामा बिहान १०:५१ बजे, साउदी अरेबियामा बिहान ९:५५ बजे, कतारमा बिहान ८:१५ बजे र यूएईमा सोही दिन बिहान ९:०१ बजे, इजरायलमा बिहान १०:२७ बजे र म्यानमारमा बिहान ९:५५ बजे टीकाको उत्तम साइत रहेको समितिले जनाएकाे छ ।