काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा-२ बाट उम्मेदवार बन्ने भएका छन्।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले बताए।
उनी यसअघि चितवन-३ बाट निर्वाचित भएका थिए । अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्।
काठमाडौं-१० बाट दोहोर्याएर लड्दा उनी पराजित भएका थिए । २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं-१० बाट हारेका थिए भने सिरहा-५ बाट झिनो अन्तरले जितेका थिए।
२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।
गोरखाका माओवादी नेता-कार्यकर्ता र जनप्रतिनिधिले प्रचण्डलाई भेटेर चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मेहनत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने तर्क गरेका थिए।
आफूलाई भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता-कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए।
चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता-कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरकफरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए।