कालिकोटमा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

जनता संवाददाता
२०७९ आश्विन २४ गते, सोमबार

काठमाडौं। कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका १३ जनाको पहिचान खुलेको छ।

आइतबार दिउँसो कुकुर खोला र कर्णाली नदीको दोभानमा मलामी गएका १३ जनालाई राँचुली गाउँबाट आएको पहिरोले बगाएको थियो।

प्रहरीका अनुसार पहिरोसँगै कर्णाली नदीमा बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २२ वर्षीय प्रशान्त शाही रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधनप्रसाद श्रेष्ठका अनुसार घटना आइतबार दिउँसोको भएपनि प्रहरीलाई सोमबार विहान ७ बजेतिर मात्रै खवर भएको थियो। ‘लास जलाउने बेला माथिबाट आएको पहिरोमा परेर सबै जना कर्णाली नदीमा बेपत्ता भएका हुन्,’ उनले भने, ‘खोजी कार्य सुरु गरिएको छ, अहिलेसम्म कोही फेला परेका छैनन्।’

बेपत्ता हुनेमा तिलागुफा नगरपालिका वडा नम्बर–४ राँचुलीका वडाध्यक्ष परबहादुर शाही पनि छन्। स्थानीय हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० घाटमा मलामी आएका थिए।

प्रकाशित मिति : २०७९ आश्विन २४ गते, सोमबार


Scroll to Top

Janata Media