काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।
चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए ।
‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ उनले भने, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ ९झ० अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’
चौधरीले २३ असोजमा आफ्ना प्रतिनिधि झकुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर उनको उम्मेदवारी विरुद्ध नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो घटनामा संलग्नताको आरोप लागेका चौधरीले फरार रहेकै अवस्थामा २०७४ सालको प्रतिनिधसभा निर्वाचनमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि अदालतसमक्ष आत्मसमर्पण गरेका उनलाई कैलाली जिल्ला अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत डोटीले पनि सदर गरेको थियो । अदालतको फैसला अनुसार कारागारमा रहेका उनले डिल्लीबजार कारागारबाटै संसद सचिवालमा आई प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।