रूपन्देही क्षेत्र नम्बर-२ मा गठबन्धनका साझा उम्मेद्वार र दुवै स्वतन्त्रको उम्मेद्वारी रद्द

जनता संवाददाता
२०७९ आश्विन २६ गते, बुधबार

काठमाडौँ । रूपन्देहीको क्षेत्र नम्बर(२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ।

तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ नेकपा एकीकृत समाजवादी, रूपन्देहीका अध्यक्ष हुन्।

निर्वाचन आयोगले केही बेरअघि सूचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

गुरुङसहित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६साउन ६ गते मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो।

गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।

गुरुङहरूको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरूद्ध उजुरी परेको थियो।

त्यस्तै रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल ९डा। निकोलस० विरूद्ध निर्वाचन कार्यालयमा दुइटा उजुरी दर्ता भएको थियो।

भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका हिमाल बस्यालको पनि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ‘ङ’ बमोजिम उम्मेदवार बन्न पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिए।

प्रकाशित मिति : २०७९ आश्विन २६ गते, बुधबार


Scroll to Top

Janata Media