नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गर्ने हुम्लाका एक युवक पक्राउ

जनता संवाददाता
२०७९ चैत्र २६ गते, आईतवार

काठमाडौँ । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ।

यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। उनले यसरी विज्ञापन पोष्ट गरी त्यसमार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई मोबाइलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्ने भनी रकम ठगी गर्ने गरेको खुलेको छ।

उनले मोबाइल खरिद गरेबापत आफ्नो सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेका बैंक खाता, इसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको जानकारी दिए।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते, आईतवार


Scroll to Top

Janata Media