सत्यमोहन बालनृत्य देखाउन चाहन्थे तर अधुरै रह्यो

जनता संवाददाता
२०७९ आश्विन ३१ गते, सोमबार

काठमाडौं । एउटा नागरिकको शक्ति कति हुन्छ, आइतबार ललितपुर महानगरपालिका प्रांगणमा देख्न पाइन्थ्यो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्यहाँ करिब चार घण्टा राखियो ।

देशको अभिभावक, सर्वोच्च नागरिक, शताब्दी कटाएका एक युग पुरुष र नेपाली संस्कृति कला साहित्य र इतिहासमा अतुलनीय योगदान पुर्‍याएका जोशीलाई श्रद्धाञ्जली अर्पण गरी बिदाइ गर्न सयौैं सर्वसाधारणका साथै कलाकार, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसमेत उपस्थित भए ।

प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बामदेव गौतम लगायतका नेता जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पुगे । प्रधानमन्त्री देउवाले जोशीको शरीरलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।

प्रचण्डले युग पुरुष सत्यमोहनको सम्मानका लागि राज्य र सरकारले उनको सम्झनाका लागि केही काम गर्ने बताए । ‘शताब्दी पुरुष जोशीको सम्मानका लागि राज्य र पार्टीहरुले केही न केही काम गर्छौं जसले उनलाई युगयुगसम्म हामीलाई सम्झाइरहने छ’, प्रचण्डले भने ।

जोशीसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउदै ललितपुरका मेयर चिरिबाबु महर्जनले जोशीको आग्रहमा आफूहरुले धेरै काम गरेको बताए । ‘अझै उहाँको कामको सम्मान गर्छौ’ उनले भने ।

महर्जनका अनुसार २३ सय वर्षअघि पटनाका सम्राट अशोक आफ्नी छोरी चारुमतीलाई नेपाल ल्याएर नेपाल भ्रमणमा आएका थिए । पछि चारुमतीको विवाह चावहिल बस्ने नेपाली घरानासँग भयो । जोशी यसैबारेमा बाल नृत्य देखाउन चाहन्थे ।

जोशीले बाल नृत्य मञ्चन गर्नका लागि प्रयास गरिरहेका थिए । बाल नृत्य प्रदर्शनको तयारीमा थियो । तर त्यही बेला दरबार हत्यकाण्ड भयो र नृत्य प्रदर्शन हुन सकेन ।

चिरिबाबु मेयर भइसकेपछि जोशीले त्यही बाल नृत्य प्रदर्शनका लागि काम गर्न आग्रह गरे । विभिन्न समयमा रिहर्सल र तालिम पनि भए । तर कोरोना महामारीका कारण पुन नृत्य प्रदर्शन रोकियो । ‘जोशी आफैले हेर्ने चाहना गर्नु भएको बाल नृत्य कोरोना भाइरसको संक्रमणका कारण प्रदर्शन गर्न नसक्दा नरमाइलो लागेको छ । तर हामी त्यो बाल नृत्य प्रदर्शन गर्ने छौं’, चिरिबाबुले भने ।

प्रकाशित मिति : २०७९ आश्विन ३१ गते, सोमबार


Scroll to Top

Janata Media