नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको स्वर्ण एपीएफलाई

जनता संवाददाता
२०७९ कार्तिक ३ गते, बिहीबार

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि एपीएफले जितेको छ । प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा भएको खेलमा टाइब्रेकरमा त्रिभुवन आर्मीलाई सडेन डेथमा (६-५) हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

यसअघि निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै टिमले गोल गर्न सकेनन् र खेलको निर्णय टाइब्रेकरबाट गरियो ।

सुरुमा पाँच पाँच पेनाल्टी प्रहार गर्दा दुवै टिमका चार चार खेलाडीले गोल गरे । जसमा एपीएफका नविन लामा, आभास लामिछाने, सुदिप शिख्राकार र राजु योगीले गोल गरे भने सनिष श्रेष्ठको प्रहार बाहिर गएको थियो ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा र विवेक बस्नेतले गोल गरे । सेसेहाङ आङदम्बेको प्रहार भने एपीएफका गोलकिपर राजु योगीले बचाए ।

त्यसपछि थप दुई पेनाल्टी प्रहार हुँदा एपीएफका दिपेश धिमाल र मणि लामाले गोल गरे भने आर्मीका विकास खवासले गोल गरे । आर्मीका सुमन अर्यालको प्रहार एपीएफका गोलकिपर राजु योगीले बचाए ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते, बिहीबार


Scroll to Top

Janata Media