गोरखा अस्पतालका चिकित्सक कार्यकक्षमै कुटिए

जनता संवाददाता
२०७९ कार्तिक ६ गते, आईतवार

काठमाडौँ । गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् ।

‘एक जना महिला थाइराइड जाँच गर्न आउनुभएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठले भने, ‘रिपोर्ट चित्त बुझेन भनेर उहाँका ३ जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई हातपात गर्नुभएछ ।’

घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा लिखित उजुरी समेत दिइसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।

घटना लगतै समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै घटनामा संलग्नलाई खोजी गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते, आईतवार


Scroll to Top

Janata Media