काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएकाे छ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्।
प्रहरीले एक हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएकाे छ।
सन्दीपले भने आफूमाथि लागेकाे आराेप अस्वीकार गर्दै आइरहेका छन्। उनले आफू पीडित भनिएकी किशोरीले कर गरेपछि आफू उनको चित्त नदुखोस् भनेर नगरकोट जान सहमत भएको बयान दिएका छन्।
यस्तो छ सन्दीपको बयान:
मैले विगत ७ वर्षदेखि पेशागत रुपमा क्रिकेट खेल्दै आएको छु। सन् २०१६ देखि निरन्तर रुपमा नेपालको लागि अन्तराष्ट्रिय खेल खेल्दै आएको छु। सन् २०२१ डिसेम्बरदेखि नेपाल क्रिकेट संघको आग्रहमा नेपाल क्रिकेट टिमको क्याप्टेनको रुपमा मलाई जिम्मेवारी दिइ टिमको नेतृत्व गर्दै आएको छु। त्यस्तैमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) र हाम्रो क्रिकेट टिमका खेलाडी देव खनालबीच एक आपसमा चिनजान रहेछ। देव खनालले मसँग फोटो खिचेका थिए। सो फोटो निजले पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई स्न्याप च्याटमा पठाएका रहेछन्। त्यसपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाइएकी थिइन्। मलाई मिति र समय याद भएन, पछि देव खनाल र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) साथी रहेको कुरा पनि थाहा पाएपछि फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेको थिए। निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मलाई समय समयमा स्न्याप च्याटमार्फत केही भिडियो र फोटो पठाउने गरेको र मैले त्यस्को बदला सामान्य उत्तर दिने गरेको थिएँ। सोही क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईंको फ्यान हुँ, तपाईंसँग एकदमै धेरै भेट्ने इच्छा छ भनेकी थिइन्।
मैले निजलाई जवाफमा अहिले मसँग भेट्ने टाइम छैन, म करिब २ महिनापछि खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौँला नि भन्दा निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकोले मलाई तपाईंबाट केही ‘हेल्प’ चाहिएको हुँदा तपाईंलाई भेटी केही व्यक्तिगत कुराहरु सेयर गर्न मन छ भनेकोमा मैले के भयो ‘हाउ क्यान आई हेल्प यू?’ भनी म्यासेज गर्दा होइन म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले निजलाई ठीकै छ, मलाई अहिले त फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौँला नि भनेको थिएँ। मिति २०७९।०५।०५ गते साँझ करिब १६ः००/१६ः१५ बजेको समयमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई मैले फोन गरेको थिएँ। कुराकानीकै बीचमा निजले फेरि पटक पटक भेट्ने प्रस्ताव गरेकी थिइन्। मेरो केही मिटिङ पनि थियो र म व्यस्त पनि भएकोले मैले निजलाई म आज अलि व्यस्त छु, मेरो केही मिटिङहरु पनि छन्। आज तिमीलाई भेट्न सम्भव छैन भन्दा निजले ठीक छ तपाईं काम भ्याएर आउनु, म होस्टेलमै पर्खिबस्छु भनेकी थिइन्। मेरो साँझ मिटिङ सक्कियो र मैले बेलुका करिब १९ः०० बजेतिर होस्टेल पुग्नुअघि होस्टेलको लोकेशन माग्नको लागि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई फोन गरी तिमी कहाँ हो? म तिम्रो होस्टेलको बाटो हुँदै आउँदैछु भनेको थिएँ। निजले तपाईं होस्टेलतिर नआउनुस् होस्टेलनजिकै लिटल काठमाडौँ रेस्टुरेन्ट छ। तपाईं त्यहीँ कुरेर बस्नुस्, म त्यहीँ आउँछु भनेकोले म लिटल काठमाडौँ रेस्टुरेन्टनजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ।
त्यस्को करिब २/३ मिनेटपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन्। गाडीभित्र बसेपछि मैले निजलाई हेल्लो/हाई गरी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले आफूलाई बोलाएकोले ‘ह्वाट्स योर प्लान ?’ भनी सोधेकोमा निजले मलाई ‘लेट्स गो टू नगरकोट’ भनेकोमा मैले नगरकोट जान त सम्भव छैन, बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भन्दा हैन, मैले आज बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु, ‘लेट्स गो टू नगरकोट’ भनेकोमा मैले फेरि पनि आज सम्भव छैन, भोलि म गेम खेल्न केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होइन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भइ हामी दुबैजना नगरकोट गएका थियौंँ। निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन। त्यही पनि मैले निजको चित्त नदुखोस् भनी गएको थिएँ।
नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को बारेमा सोध्दा निजले मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफू १९ वर्षमा चलिरहेको कुरा बताएकी थिइन्। बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरि पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होइन, मेरो होस्टेल बन्द हुँदैन, जति बेला पनि खुल्ला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न पनि इच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौंँ। नगरकोट जाने क्रममा मैले देव खनाल र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मित्रताको बारेमा समेत राम्रोसँग सोध्दा निजले देव खनालको खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सोसल मिडियामार्फत देव खनालसँग चिनजानमा भएको कुरा बताएकी थिइन्। नगरकोट जाने क्रममा हामीबीच धेरैजसो कुरा क्रिकेट र मेरो संगीतको बारेमा भएको थियो। हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौँ।
म प्रायजसोः आफ्नो परिवार र साथीहरुसँग कहिलेकाहीँ नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोट स्थितमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भएतानि हामी दुई जनाबीच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन। करिब २०ः३० बजेतिर हामी बोजिनी रिसोर्टमा संगीत सुन्दै हाँसीखुसीका साथ नगरकोट गएका थियौंँ। उक्त रिसोर्ट पुगिसकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केही समयमा खाजा अर्डर गरेका थियौँ। हामी दुबै जनालाई संगीत मनपर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई गीत गाउन धेरै नै मनपर्ने र मलाई गीत सुन्ने इच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गीतार लिइ आइ हामी दुवै जना भइ रिसोर्टको बाहिर बसी केही गीत गाउँदै रमाइलो गरेका थियौँ। केही समयपछि खाजा आयो र हामीले खाजा खायौंँ। खाजा खाएपछि म रेलिङमा आड लगाइ काठमाडौँको भ्यू हेरिरहेको थिएँ। त्यसै बीचमा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) मेरो पछाडि आइ मेरो काँधमा आफ्नो टाउको अड्याइ उभिएकी थिइन्। त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भैसक्यो, रात पर्यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन, यतै बसौंला भन्ने कुरा गरेपछि मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौँ, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझ्नभन्दा निजले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोलिदिएको थिएँ। त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) गाडीमा गइ बसिन् भने म बिल तिर्न काउण्टरमा गए। बिल तिरी सकेपछि हामी दुबै जना करिब २३ः०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टबाट हिँडेका थियौँ। हामी बोजिनी रिसोर्टबाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) केही रिसाएकी थिइन्। मैले निजको मुड ठीक गर्नका लागि गाडीमा मिठो मिठो गित लगाएँ। त्यसको केही छिनपछि कुराहरु सामान्य हुन थाल्यो। करिब २३ः१५ बजेतिर हुनु पर्छ, मलाई निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौँको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुर्याइदिन्छु भन्दा कहाँ हुन्छ, यति राती भइसक्यो, होस्टेल बन्द भइसक्यो, होस्टेल खुल्दैन भन्न थालिन्।
निजको त्यो कुरा सुनेर म एकछिन छक्क परेँ, अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होइनौँ, अहिले होस्टेल बन्द भयो भन्छौँ भनेकोमा सोही क्रममा निजलाई एउटा फोन आएको थियो तर निजले फोन उठाइनन् र म्यासेजमार्फत आफ्नो साथीलाई He Dropped me at my friend’s place and I am safe. I will come tomorrow morning भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झूठ बोलेको, भोलि कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दा ‘डन्ट वरी’, फेरि पनि होस्टेल बाहिरबाट कोही कसैले फोन गर्यो भने म होस्टेलमा छु भन्छु र होस्टेलभित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन्। निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिइन् तर उक्त कुरा झुठो बोलेकी रहेछिन् भन्ने कुरा मलाई आभास भयो। त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईंसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईंसँग जान्छु, तपाईंसँगै धेरै कुरा गर्नु छ र मेरा केही व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरिदिन्छु, त्यहीँ गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिदै त्यहाँ सबै खेलाडीहरु हुन्छन्, त्यसमाथि देव पनि त्यही हुन्छ भन्दै आनाकानी गर्न थालिन्। निजको आनाकानी गरेको देखी, ठीकै छ नि त म भोलि क्रिकेटका लागि बाहिर जानु छ, अरु सबै खेलाडीहरु हायातमा बसेका छन्, मलाई जसरी भए पनि पुग्नुपर्छ। म तिमीलाई मैले चिनेको र मलगायत अन्य खेलाडीहरु कहिलेकाहीँ क्याम्पका लागि जाने होटल काठमाडौँ इनमा फोन गरी एउटा कोठा बुक गरिदिन्छु, म पनि एक छिन् तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेलसम्म पुर्याइदिनका लागि बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल होटल काठमाडौँ इनमा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ। होटल काठमाडौँ इनमा पुगेपछि मैले निजलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउँछु भनेपछि निज गाडीबाट आफ्नो मोबाइल र मास्क लिइ गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ।
मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कोठा चाबी लिइ पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन्, त्यसपछि म त्यही कोठामा गएँ, कोठामा पुगी एसी नचेलेको देखी मैले होटलको स्टाफलाई ईन्फर्म गरेँ। त्यसपछि कोठाको एसी बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भने अनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ। कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्चीमा बसेँ भने म पछि निज आएर कोठाको ढोका लगाइ भित्रबाट लक गरेकी थिइन् । मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्स ओके भन्दै जवाफ फर्काइन्। मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरुम गइ पुनः कुर्चीमा आइ बसेँ। त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो। सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्लफ्रेन्ड रहेको र छिटै मेरो १/२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ। त्यसपछि मैले तिम्रोबारेमा भन न त भन्दा मेरो घर नुवाकोट हो तर म वीरगंजमा जन्मेकी हुँ। अहिले म काठमाडौँमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु। मेरो बुवा र आमाको सम्बन्धमा विच्छेद भएको छ। मेरो बाबुआमाको सम्बन्धविच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन। मैले कहिले काठमाडौँ त कहिले पोखरा गर्दै बीचबीचमा विद्यालय परिवर्तन गर्दै अहिले पुनः काठमाडौँमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन्। निजले आफ्नो बाबुआमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थिति समेत राम्रो नरहेको कुरा बताइन्। कुराकानीको क्रममा निज उदास देखिएकोले मैले डन्ट वरी सब ठीक हुन्छ, दुःखी नहोउ भन्ने कुरा गरेँ।
निजको आर्थिक अवस्था ठीक नरहेकोले निजले मलाई स्पोनसरसीपका लागि समेत कुरा गरेको र स्पोनसरसीपले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठीकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ। निजले कुरा गर्दागर्दै निज फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजको अनुहारमा खुसी देखी मलाई पनि खुसी लाग्यो। कुराकानी गर्दागर्दै करिब ०३ः४५–०४ः०० बज्यो। कुराकानीकै क्रममा निज आफैले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिए, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमाबुवाको सहयोगमा उमेर घटाइ अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरासमेत गरेकी थिइन्। यो कुरा सुन्दा निजमाथि शंका लागि तत्कालै होटल जाने सोच बनाएँ। त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पुर्याइदिन आउँछु भन्दा निजले तपाईं अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाईं यही बस्नुस, हामी यहीँ कुराकानी गरौंला भनी आग्रह गरिन्। त्यसपछि मलाई निजले भनेको कुरा नि ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यहीँ सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्याइदिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यहीँ बस्नुस्, हामी यहीँ बसी अझै केही गफ गरौंला भनी कर गर्न थालिन्। म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा हैन म यहीँ ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसे र निज बेडमै थिइन्। मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे अलार्म लगाइ कुराकानी गर्दागर्दै म कुर्चीमा निदाएँ।
बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ। म फेरि बाथरुममा फ्रेस भइ आइ निजलाई तिमी ब्रेकफास्टमा केही लिन्छौँ भनी सोधेकोमा निजले मलाई तपाईंलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौँ। कोठाबाट सँगै निस्किने क्रममा म भर्याङबाट छिटै तल गइ पार्किङमा राखेको गाडी लिन गएँ भने निज पनि खुसी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आइ बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गइ मैले निजलाई होस्टेल नजिक छाडिदिएको थिएँ। त्यसपछि म पनि आफ्नो होटलतिर लागेँ र सोही साँझ म लगायत मेरो क्रिकेट टिम भइ केन्यातर्फ लागेका थियौँ। केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो। मैले निजलाई म अब आफ्नो काममा बिजी हुन्छु, गेममा फोकस गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन। मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासी निज पीडित भनीएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को दाई परिवर्तित नाम गौशाला २६ (छ) (०७९।०८०) ले मउपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ। निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो ब्वाइफ्रेण्डसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ। होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौँ।’