टी–२० विश्वकप क्रिकेट : इंग्ल्यान्डद्धारा श्रीलंका पराजित, इंग्ल्यान्ड सेमिफाइनलमा

जनता संवाददाता
२०७९ कार्तिक २० गते, आईतवार

काठमाडौँ । श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।

सुपर १२ अन्तर्गत समूह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनल पुग्दा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

न्युजिल्यान्ड र इंग्ल्यान्ड समान पाँच खेलबाट ७ अंक जोड्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । समान खेलबाट सात अंक भए पनि नेट रनरेटमा पछि पर्दा अस्ट्रेलियाको यात्रा समूह चरणमै टुंगियो । इंग्ल्यान्डको नेट रनरेट ०.४७ तथा अस्ट्रेलियाको –०.१७ रह्यो । त्यसैगरी, चार अंक जोडेको श्रीलंका, तीन अंक जोडेको आयरल्यान्ड र दुई अंक जोडेको अफगानिस्तान समूह चरणबाटै बाहिरिएका छन् ।

श्रीलंकाविरुद्ध एक सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.४ ओभरमा ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य हासिल गरेको थियो । इंग्ल्यान्डले पहिलो विकेटका लािग ७५ रनको साझेदारी गरेको थियो । उसका ओपनर एलेक्स हेल्सले सर्वाधिक ४७ रन बनाए । ३० बलको सामना गरेका एलेक्सले सात चौका र एक छक्का हिर्काए । त्यसैगरी, २३ बल खेलेका अर्का ओपनर जस बटलरले २८ रनको योगदान गरे । त्यस्तै, बेन स्टोक्सले ३६ बलमा ४२ रन जोडे । बलिङतर्फ श्रीलंकाका लाहिरू कुमारा, वानिन्दु हसरंगा डी सिल्भा र धनञ्जय डी सिल्भाले समान दुई विकेट लिएका थिए ।

त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले ओपनर पाथुम निसंकाको अर्धशतकीय इनिङ्सको मद्दतमा आठ विकेट गुमाउँदै एक सय ४१ रनको योगफल तयार पारेको थियो । पाथुमले ४५ बलमा ६७ रन बनाएका थिए । उनले दुई चौका र पाँच छक्का प्रहार गरेका थिए ।

विश्वकप सुपर १२ अन्तर्गत समूह २ मा आइतबार तीन खेल हुँदै छन् । आइतबार बिहान नेपाली समयअनुसार ५ बजेर ४५ मिनेट जाँदा दक्षिण अफ्रिका र नेदरल्यान्डबीचको खेल सुरु हुनेछ । ९ बजेर ४५ मिनेट जाँदा पाकिस्तान र बंगलादेश भिड्नेछन् । दिउँसो १ः४५ बजे हुने खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते, आईतवार


Scroll to Top

Janata Media