टी-२० विश्वकप : सेमिफाइनलमा इङ्ल्याण्ड र भारत तथा पाकिस्तान र न्यूजिल्याण्ड भिड्ने

अब फाइनल प्रवेशका लागि आगामी बुधबार न्यूजिल्याण्ड र पाकिस्तान सिड्नीमा खेल्नेछन्। यस्तै सेमिफाइनलको अन्तिम खेलमा बिहिबार एडिलेडमा भारत र इङ्ल्याण्ड भिड्नेछन्।

जनता संवाददाता
२०७९ कार्तिक २० गते, आईतवार

काठमाडौँ । अष्ट्रेलियामा जारी आइसिसी टी(२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ। आइतबार सुपर १२ का सबै खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने दुवै समूहका शीर्ष २ वटा टोली छानिएका छन्।

समूह १ बाट न्युजिल्यान्ड समूह विजेता बन्दा इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। यस्तै समूह २ बाट भारत समूह विजेता बन्दा पाकिस्तान समूहको उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेको छ।

अब सेमिफाइनलमा समूह २ को विजेता भारतले समूह १ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ। यस्तै समूह २ को उपविजेता पाकिस्तानले समूह १ को विजेता न्युजिल्यान्डको सामना गर्नेछ।

समूह १ मा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७-७ अंक भए पनि नेट रनरेटका आधारमा शीर्ष दुई टोली अघि बढेका हुन्।

घरेलु टोली अष्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल वर्षाले रद्द हुँदा समूहको समिकरणमै असर परेको थियो। श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोडेर विश्वकपको यात्रा टुङ्ग्याए।

यस्तै समूह २ मा भारतले ५ खेलमा ४ जितसहित ८ अंक जोड्यो। पाकिस्तानले ३ जितसहित ६ अंक जोड्यो। आइतबार बिहान अप्रत्यासित रूपमा नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका पराजित हुँदा नाटकीय ढंगले सेमिफाइनल नपुग्दै बाहिरियो। अफ्रिकाले ५ खेलमा समान ५ अंक जोडेको थियो।

नेदरल्यान्ड्सले समान ४ अंक जोडेको बंगलादेशलाई रनरेटमा पछि पार्दै चौथो स्थानमा रहेर विश्वकपको यात्रा टुङ्ग्यायो। अन्तिम खेलमा भारतसँग हारेको जिम्बावेले ३ अंक जोड्दै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो।

अब फाइनल प्रवेशका लागि आगामी बुधबार न्यूजिल्याण्ड र पाकिस्तान सिड्नीमा खेल्नेछन्। यस्तै सेमिफाइनलको अन्तिम खेलमा बिहिबार एडिलेडमा भारत र इङ्ल्याण्ड भिड्नेछन्।

यी दुबै खेलको विजेताले आगामी आइतबार मेनबर्नमा फाइनल खेल्नेछन्।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते, आईतवार


Scroll to Top

Janata Media