रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

जनता संवाददाता
२०८३ असार १ गते, सोमबार

काठमाडौं। मुलुकमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताका कारण हरेक दिन सयौँ नेपाली युवाहरू आफ्नो घर, परिवार र जन्मभूमि छोडेर परदेशिन बाध्य भइरहेका छन्। कसैले ऋण तिर्न, कसैले परिवारको गुजारा चलाउन, कसैले आफ्ना सपना पूरा गर्न त कसैले सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो वर्तमान त्यागिरहेका छन्। यही यथार्थ, यही पीडा र यही संघर्षलाई केन्द्रमा राखेर गायक तथा पत्रकार बिक्रम सुनारको नयाँ गीत ‘देशै छोडेर’ सार्वजनिक भएको छ।

बाध्यताले देश छोड्नुपरेका लाखौँ नेपालीहरूको मनको आवाज बनेको यस गीतले एयरपोर्टमा परिवारसँग छुट्टिँदाको भावुक क्षणदेखि परदेशमा पसिना बगाउँदै आफ्नो परिवारको सपना पूरा गर्न संघर्षरत युवाहरूको जीवनकथा प्रस्तुत गरेको छ। गीतले परदेशको कथा मात्र होइन, आफ्नै देशमा अवसर नपाउँदाको पीडा र सामाजिक यथार्थलाई समेत उजागर गरेको छ।

यो गीतमा चर्चित गायिका समिक्षा अधिकारीले आवाजमा साथ दिएकी छन । गीतका शब्द तथा लय सर्जक भुवन बिके हुन्। गीतको भिडियो निर्देशन चर्चित मोडल गोविन्द विवशले गरेका छन्। अडियो निर्माण प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो।

त्यसैगरी भिडियोको छायाङ्कन सौगात थापाले गरेका छन् भने सम्पादन असिम चन्द्र विश्वकर्माले गरेका छन्। भिडियोमा गीतकार भुवन बिके र अनिता नेपाललाई मुख्य अभिनयमा देख्न सकिन्छ । गीतको प्रस्तुति तथा निर्माण ९प्रोडक्सन० मनिषा सदाशङ्करले गरेकी हुन्।

गायक तथा पत्रकार बिक्रम सुनारको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

बिक्रम सुनार संगीत क्षेत्रमा मात्र नभई पत्रकारिता क्षेत्रमा पनि परिचित नाम हो । उनले करिब डेढ दशक सक्रिय रूपमा पत्रकारिता गरेका छन्। नेपालको चर्चित अनलाइन समाचार पोर्टल तथा टेलिभिजनहरूमा कार्य अनुभव हासिल गरेका सुनार हाल नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिका सचिव समेत रहेका छन्।

पछिल्लो समय उनी आफ्नो कर्मथलो जापानमा रहेर पानि पत्रकारिता र सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन्। सुनारले यसअघि पनि लेकाली ठिटो, निगाली झाँपो, भने जस्तो होस्, परदेशीको पीडा लगायतका थुप्रै गीतहरू बजारमा ल्याइसकेका छन्।

नेपाली समाजका यथार्थ, लोकसंस्कृति, श्रम, संघर्ष र जनजीवनका कथाहरूलाई गीतमार्फत प्रस्तुत गर्दै आएका सुनारको यो नयाँ सिर्जनाले पनि परदेशिन बाध्य नेपाली युवाहरूको पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ असार १ गते, सोमबार


Scroll to Top

Janata Media