काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटतालाई सुगमतामा बदल्नुपर्ने बताएका छन् । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै ओलीले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
‘सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ,’ ओलीले भने, ‘यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।’ कर्णालीको विकासको खाका एमालेले कोरेको उनको भनाइ थियो ।
‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ,’ ओलीले भने, ‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।’
आगामी चुनावले देश कता जाने भन्नेबारे फैसला गर्ने ओलीको भनाइ थियो । ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ,’ उनले भने ।