मुस्ताङका २९ वर्षे युवक योगेश बाबु पुस्तालाई विस्थापित गर्दै सांसद बने

जनता संवाददाता
२०७९ मंसिर ५ गते, सोमबार

काठमाडौँ । यो चुनावमा नेपाली कांग्रेसबाट सहजै टिकट पाएका सीमित व्यक्तिमध्ये पर्छन्, मुस्ताङका २९ वर्षे युवक योगेश गौचन ।

झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिँदा धेरैले भनेका थिए, जिल्लामा प्रभावशाली एमालेका नेता प्रेम तुलाचनका अघि उनको केही जोर चल्दैन । हुन पनि २०७४ सालको निर्वाचनमा प्रेमले रोमीलाई नै हराएर संसद छिरेका थिए ।

कांग्रेस नेतृत्वले मुस्ताङका जिल्ला सभापतिसमेत रहेका रोमीलाई प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिएर पठाएको थियो । रोमीले आफैं उम्मेदवार हुन रुची देखाएनन् र छोरालाई टिकट दिए ।
देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचे ।

योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत पाए । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।

२०७४ को चुनावमा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्रमध्ये मुस्ताङ पनि एक थियो । एमालेका तुलाचनले ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १८१ मत ल्याएका थिए । यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमी समानुपातिक तर्फ पनि बसेनन् ।

 

प्रकाशित मिति : २०७९ मंसिर ५ गते, सोमबार


Scroll to Top

Janata Media