वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

जनता संवाददाता
२०८१ बैशाख १६ गते, आईतवार

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटिएको थियो । यससँगै पाँच खेलको सिरिजमा १–१ को बराबरी भएको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७१ रन बनाए । गुलशन झाले २६, लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाए ।

बलिङमा वेस्ट इन्डिज ‘ए’ का ओवेड म्याकवे, गुडाकेश मोतीले दुई दुई विकेट लिए । ओसानी थोमस र रोस्टन चेसले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३ रन बनाए । यस्तै गुडाकेश मोतीले अविजित ३३ रन बनाए । कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्र्सले ११, केसी काटीले १० र म्याथ्यु फर्डले अविजित ११ रन बनाए ।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झारे ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते, आईतवार


Scroll to Top

Janata Media