जनता मिडियाले गर्यो, हुम्लाको चंखेली गाउँपालिकासँग अन्तरक्रिया

जनता संवाददाता
२०७९ मंसिर २० गते, मंगलवार

हुम्ला । जनता मिडियाले हुम्लाको चंखेली गाउँपालिकासँग अन्तरक्रिया गरेको छ । चंखेली गाउँपालिकाको कार्यालयमा जनता मिडियाको आयोजना र चंखेली गाउँपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनता मिडियाका सञ्चालक चक्र दानीको सभापतित्वमा र सर्केगाड गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवम् वडा नं ६ का अध्यक्ष जय बहादुर सिराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सोहि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर शाही, १ देखि ६ सम्मका वडाअध्यक्षहरु, अन्य कार्यपालिकाका सदस्यहरु र गाउँपालिकाका शाखा प्रमुखहरुको पनि उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका कार्यवाहक अध्यक्ष जय बहादुर सिराले आफू विशेषगरी वडा नं ६ को अध्यक्ष भएकाले आफ्नो वडामा आफु निर्वाचित भएदेखि जनतालका प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान दिँदै काम गरिरहेको बताए । उनले भने, ‘म निर्वाचित भएपछि मेरो वडामा कुनै पनि मानिसलाई अनावश्यक कुलतमा फस्न नदिन सार्वजनिक स्थलमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मात्र भेला हुन पाईने नियम बनाएको छु । अन्य विकास निर्माणका काममा पनि विशेष प्राथमिकता दिएर कामहरु अगाडी बढाईरहेको छु ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् चंखेली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर शाहीले आफू विगत ५ वर्षदेखि यसै गाउँपालिकामा कार्यरत भएकाले हाफ्नो विचारमा यस क्षेत्रका जनतामा उपभोक्तावादी चिन्तन हाबी भएकाले विकास गर्नमा समस्या भएको बताए । उनले भने, ‘म विगत ५ वर्षदखि यस गाउँपालिकाको कार्यकारीको रुपमा काम गरिरहेको छु । यो छ वर्षको मेरो अनुभवमा यहाँका जनतामा उपभोक्तावादी चिन्तन हाबि भएकाले सोचेजस्तो विकास गर्न सकिएको छैन । तर अब हामी यो समस्यालाई निमिट्यान्ह पार्न लागिरहेका छौँ । अब चंखेली गाउँपालिकाले छिट्टै विकासको गति लिनेछ ।’

त्यस्तै कार्यक्रमका अतिथि एवम् १ देखि ६ सम्मका वडा अध्यक्षहरुले पनि आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले निर्वाचित भएदेखि गरेका आफुले कामहरुको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका सबै शाखाका शाखा प्रमुखहरुले पनि आ-आफ्ना समस्या सहित गरेका कामहरुको विवरण उल्लेख गरेका थिए ।

कार्यक्रमका सभापति एवम् जनता मिडियाका सञ्चालक चक्र दानीले जनता मिडिया अहिले स्थानीय तहसँग जोडिन आएको र पुन केहि विशेष कार्ययोजनाका साथ आउने बताए ।

कार्यक्रममा सहजीकरणको भूमिका जनता मिडिया संवाददाता नन्दकृष्ण थापाले निर्वाह गरेका थिए ।

यस्तै गरी क्रमश हुम्लाका अन्य गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते, मंगलवार


Scroll to Top

Janata Media