ह्याक भएको फेसबुक अकाउन्ट कसरी फिर्ता ल्याउने ?

जनता संवाददाता
२०७९ पुष १३ गते, बुधबार

काठमाडौं । ह्याकर वा अनधिकृत व्यक्तिको पहुँचमा पुगिसकेको फेसबुक अकाउन्ट पुनः फिर्ता ल्याउने विभिन्न तरिका छन् । कहिलेकाहीँ यो प्रक्रिया अलि लामो हुनसक्छ भने कहिलेकाँही छिटै अकाउन्ट फिर्ता आउनसक्छ । ह्याकरले अकाउन्टमा धेरै कुराहरु जस्तै युजरनेम, पासवर्ड, सम्पर्क विवरण, ईमेल आदि परिवर्तन गरेको छ भने रिकभर गर्न वा पूर्व अवस्थामा ल्याउन झन्झट हुन्छ ।

अकाउन्ट ह्याक भएकाे थाहा पाउने उपाय:

  • तपाईंले कहिल्यै नखिचेका फाेटाे तथा भिडिओहरु तपाईंकाे अकाउन्टबाट अपलाेड हुनु ।
  • अकाउन्टमा जाेडिएका साथीहरुले अनावश्यक मेसेज प्राप्त गर्नु ।
  • तपाईंले प्रयाेग गरिरहने डिभाइसबाट लगइन नहुनु ।

यदि यस्ता वा यस्तै प्रकृतिका समस्या भाेगिरहनु भएकाे छ भने सामाजिक सञ्जाल कम्पनीले तपाईंलाई तत्काल पासवर्ड परिवर्तन गर्न सुझाव दिन्छन् । यस्तो सुझावसँग जोडिएको नोटिफिकेसनलाई ध्यान दिनु जरुरी हुन्छ ।

अब तपाईंले नयाँ पासवर्ड राख्दा पुराना पासवर्डहरु दाेहाेर्‍याउनु हुँदैन ।

याेसँगै बलियाे पासवर्ड राख्नुपर्छ । यदि पासवर्ड परिवर्तन गर्न खाेज्दा पनि भएन भने जतिसक्दाे चाँडाे कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

ह्याक भएको फेसबुक अकाउन्ट कसरी फिर्ता ल्याउने ?

आफ्नो फेसबुक अकाउन्ट ह्याक भएकाे छ भने सुरुमा यहाँ क्लिक गर्नुहाेस् ।

  • अब ‘माई अकाउन्ट इज कम्प्रमाइज्ड’ मा क्लिक गर्नुहाेस् ।
  • अर्काे पेजमा तपाईंकाे ईमेल र माेबाइल नम्बर टाइप गर्नुहाेस् ।
  • अब पुरानाे पासवर्ड टाइप गरेर लगइन गर्नुहाेस् । यदि ह्याकरले तपाईंकाे अकाउन्टकाे पासवर्ड मात्र परिवर्तन गरेकाे छ भने तपाईंले यहाँबाट अकाउन्ट पुन: आफ्नाे कन्ट्राेलमा लिन सक्नुहुन्छ । यसका लागि लगइन भएपछि नयाँ पासवर्ड राख्नुहाेस् ।

यदि यहाँ अकाउन्ट लगइन भएन भने तपाईंले पेजमा भएकाे ईमेल एड्रेसमा मेल पठाउन सक्नुहुनेछ । यसाे गर्दा प्रतिक्रियाका लागि समय लाग्नसक्छ । यदि यसाे गर्दा समेत भएन भने तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस?’ मा क्लिक गरेर तपाईंले आफ्नाे अकाउन्ट खाेज्‍न सक्नुहुनेछ ।

फेसबुकले यहाँ तपाईंकाे अकाउन्ट कुन ठाउँबाट, कुन डिभाइसबाट लगइन भएकाे देखाउनेछ ।

यदि यी सबै गर्दा पनि भएन भने तपाईंले आफूसँग सम्बन्धित १३ प्रकारका कागजात जस्तै: चालक अनुमतिपत्र, पासपाेर्ट, विवाहकाे प्रमाणपत्र, नागरिकता आदिबाट अकाउन्टमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ । जसका लागि १३ प्रकारका कागजपत्रमध्ये कुनै एक तपाईंले समातेकाे फाेटाे फेसबुकलाई पठाउनुपर्ने हुन्छ ।

यी सबै कुरा तपाईंले ‘नाे लङ्गर ह्याभ एक्सेस टु दिस्’ पेजमा गर्नुपर्ने छ । अब यस पछाडिकाे प्रक्रियाबारे फेसबुकले तपाईंलाई मेल पठाउनेछ ।

प्रकाशित मिति : २०७९ पुष १३ गते, बुधबार


Scroll to Top

Janata Media