काठमाडौँ । आदर्श राजनीतिज्ञ एवं समाजसेवी दिलबहादुर कुँवर (बूढथापा) को जीवनी र योगदानमा आधारित स्मृतिग्रन्थ सार्वजनिक भएको छ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले मङ्गलबार उक्त स्मृतिग्रन्थ विमोचन गरेका हुन्।
२०१५ सालको जननिर्वाचनमा अछाम–बाजुरा नम्वर–७२ बाट निर्वाचित एमपी (सांसद) दिलबहादुर कुँवर (बूढथापा) का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठले उनको जीवनी, राजनीतिक यात्रा, समाजसुधार र योगदानमा आधारित स्मृतिग्रन्थ प्रकाशित गरेका हुन् ।
कार्यक्रममा नेता बडूले अछाम जिल्लामा राजनीति चेतना, शिक्षाको ज्योति छर्न, सामाजिक विभेद विरुद्ध सचेतना फैलाउन र अन्यायका विरुद्ध दह्रो रूपमा उभिइँ पीडितलाई न्याय दिलाउन एमपी बूढथापाको योगदान अविस्मरणिय रहेको चर्चा गरे।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा बूढथापा कांग्रेसको आदर्श राजनीतिज्ञ मात्र नभई शिक्षासेवी, समाजसेवी र सामाजिक कुरुतिविरुद्ध दह्रो गरी उभिने हक्की र निडर स्वभाव रहेको स्मरण गर्दै उनले यस्ता व्यक्तिको जीवनी र योगदानलाई समेटेर स्मृतिग्रन्थ प्रकाशनले सधै अमर राख्ने बताए।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले दिलबहादुर कुँवर (बूढथापा) भौतिकरूपले नभए पनि उनको योगदान अछामका गाउँबस्तीमा जीवित रहेको स्मरण गराए। समाजसुधारका लागि कठिन तपस्या गर्न विवस यस्ता व्यक्तिको बारेमा जति व्याख्या गरेपनि अपुग हुन्छ भन्दै उनले अछाम र अछामी जनता कहिलै पछि नपरेको दाबी गरे।
यो पुस्तकमा बूढथापालाई नजिकबाट चिन्ने र जान्ने ५० जना लेखकको लेख तथा विचार र सात वटा शुभकामना सन्देश राखिएको छन्। पूर्वराजदूत एवं पूर्वसांसद बलबहादुर कुँवरले आफ्ना पिता दिलबहादुर कुँवर बूढथापाले करिब नौ वर्ष सैनिक सेवामा रहेर देशको सेवा, अवकासपछि गाँउ गाँउमा पाठशाला स्थापना, बयालपाटामा महेन्द्र मावि स्थापना, गाँउ घरमा गोरेटो र घोरेटो बाटो निर्माणलगायत सुधारका कामको बारेमा जानकारी दिए ।
त्यस्तै, तत्कालिन राणा शासकले अछामलाई कमजोर पार्न टुक्र्याइ दिएपछि बूढथापाकै अगुवाइमा राजा महेन्द्र डोटीको सिलगढी मुकाम भएको मौकाछोपी विरोध जनाउँदा टुक्रिएको अछाम एकीकृतको घोषणा भएको इतिहास उनले खोले।
१९६४ साल असारमा तत्कालिन डोटी जिल्लाको प्रभा गर्खा ९गाँउ० श्रीकोटमा जन्मनु भएका बूढथापाको २०५९ भदौमा कैलालीको धनगढीमा निधन भएको थियो।
अछाम–१ का सांसद शेरबहादुर कुँवरले बूढथापाको योगदान अछामको शिक्षा, स्वास्थ्य, सामाजिक जागरण र विकासमा अविस्मरणीय रहेको स्मरण गरे।
साँफेबगर नगरपालिकाका पूर्व प्रमुख कुलबहादुर कुँवरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अछाम–२ का सांसद पुष्पबहादुर शाह, पूर्वमन्त्री सुरेश मल्ल, भक्तबहादुर बलायर, गोविन्दबहादुर शाह, पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरा, पूर्व गभर्नर डा। तिलक रावल लगायत सहभागी थिए।







