ओली र प्रचण्ड इमानदार भए वाम एकता हुन्छ – माधव नेपाल

जनता संवाददाता
२०७९ पुष १३ गते, बुधबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानदार भए वाम एकताको सम्भावना बढेर गएको बताएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिबारे देशभरका नेता(कार्यकर्तालाई ब्रिफिङ गर्दै उनले पाँच दलीय गठबन्धन भत्किनुमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै दोषी रहेको बताएका छन् । ‘पहिले देउवाले प्रचण्डलाई प्रधानमन्त्री मान्नुभएन । देउवा तयार हुँदा प्रचण्डले मान्नुभएन,’ अध्यक्ष नेपालले नेता(कार्यकर्ताको भर्चुअल बैठकलाई सम्बोधन गर्दै भने, ‘हामीलाई दुवैले चेपुवामा पारे । प्रचण्ड एक्लै गएर ओलीसँग सहमति गरे ।’

प्रधानमन्त्री प्रचण्डसँग बुधबार भएको भेटमा हतारमा भएकाले सल्लाह नगरेरै ओलीसँग भेट्न गएको बताएको नेपालले जनाएका छन् । तर, वाम बाहुल्यको सरकारमा सहभागी हुनेबारे भने कुनै निर्णय नभएको उनले बताएका छन् । ‘हामी सोचविचार गर्दैछौँ । वामपन्थी एकताको पनि कुरा छ । साथीहरू इमानदार भए त्यसमा हामी सकारात्मक नै छौँ,’ नेपालको भनाइ उद्धत गर्दै एक नेताले भने, ‘एमालेका साथीहरू पनि मलाई भेट्न आइराख्नुभएको छ । सबै इमानदार हुने हो भने अब वाम एकता टाढा छैन ।’

माओवादीले समेत साथ छाडेर एमालेसँग सहमति गरेपछि नेकपा एकीकृत समाजवादीको सिंगो पङ्तिमा निराशा र अन्योल छ । त्यो चिर्न अध्यक्ष नेपालले केन्द्रीय कमिटी, जिल्ला अध्यक्ष र प्रदेश कमिटीका नेताहरूसँग जुम मिटिङ गरेका हुन् ।

प्रकाशित मिति : २०७९ पुष १३ गते, बुधबार


Scroll to Top

Janata Media