समृद्धिको दूरगामी यात्रा अघि बढ्ने ओलीको विश्वास

जनता संवाददाता
२०७९ पुष १७ गते, आईतवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त रेका छन् ।

ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताए का हुन् ।

उनले सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए ।

‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौं’, उनको सन्देशमा भनिएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आ-आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरेका छन् ।

‘व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु’, उहाँले जारी गरेको सन्देशमा भनिएको छ ।

समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा उनको रहेको छ ।

प्रकाशित मिति : २०७९ पुष १७ गते, आईतवार


Scroll to Top

Janata Media