छायाँनाथ रारा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका बनाउने नगरप्रमुख भामको घोषणा

जनता संवाददाता
२०७९ पुष १८ गते, सोमबार

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका बनाउने घोषणा गरेका छन् । सोमबार बालविवाह विरुद्धको साझा अभियान सञ्जाल मुगुको सहयोगमा पत्रकार महासंघ शाखा मुगुको समन्वय, जनसमुदाय सेवाकेन्द्र र कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द मुगुको आयोजनामा बालविवाह न्यूनिकरणका लागि स्थानीय सरकारको भूमिका विषयक पत्रकार सम्मेलनमा नगरप्रमुख विष्णुकुमार भामले पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै नगरपालिकाले आफ्नो क्षेत्रमा बालविवाह अन्त्यका लागि रणनीतीक योजना बनाउने बताएका छन् ।

कार्यक्रममा नगरप्रमुख भामले नगरमा रहेका सबै वडामा आगामी दिनहरुमा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम कडाइका साथ लागू गर्ने बताए । उनका अनुसार बालविवाह न्यूनिकरण गर्ने रणनीति योजना बनाउँदा बालविवाहसँग जानकार राख्ने विज्ञहरु, गैसस, पत्रकार र नागरिक समाजका प्रतिनिधिसहितको मसौदा समिति बनाइनेछ। रणनीतिक योजनामा कार्यक्रम लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटिने छन् ।

सोही रणनीति योजनाले प्रस्ताव गरेको बजेट आगामी नगरसभाबाट विनियोजन गर्ने र हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने निर्णय पारित गराउने तयारी गरिएको नगरप्रमुख भामले जानकारी दिए । पत्रकार सम्मेलनमा बालविवाह न्यूनिकरणका लागि साझा अभियान मुगुका संयोजक सन्तोषकुमार मल्लले नगरले बालविवाह न्यूनिकरणका लागि अवलम्बन गर्नुपर्ने कार्यहरुमा थप ६ बुँदा समावेस गर्नुपर्ने भन्दै अभियानको ज्ञापनपत्र नगरप्रमुख भामलाई बुझाएका थिए ।

ज्ञापनपत्रमा देशकै बढी बालविवाह हुने प्रदेशमा कर्णाली रहेको त्यहीं मध्ये मुगु भएकाले बालविवाह न्यूनिकरण अन्त्यका लागि अब बन्ने प्रादेशिक रणनीतिक योजना आफ्नो नगरक्षेत्रमा लागू गर्दै छायानाथ रारा नगरपालिका बालविवाहमुक्त नगरपालिका घोषणा गरिने उनको भनाइ थियो । कार्यक्रममा नगरउपप्रमुख ऐश्वर्या मल्ल, पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष १८ गते, सोमबार


Scroll to Top

Janata Media