हुम्ला । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लामा नेतृत्वविहिन भएको छ । पार्टीले करिब ४ महिना अघि तत्कालिन जिल्ला सभापति रनसुर रोकायालाई निलम्बन गरेसँगै जिल्ला नेतृत्वविहिन भएको हो ।
प्रदेश भेला हुँदा रनसुर रोकाया जिल्ला सभापति चुनिएको र त्यसको १ हप्तापछि उनी सरकारी सेवामा आवद्ध भएको थाहा भएपछि उनलाई पार्टीले तुरुन्तै निलम्बन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कर्णाली प्रदेश सभापति धिरज बहादुर वलीले जनता मिडियालाई जानकारी दिए । सेरकारी सेवामा अर्थात कुनै पनि कर्मचारीलाई पार्टीको सदस्यता नदिने निति भएकाले पनि उनलाई निलम्बन गरिएको वलीले बताए ।
‘रनसुर रोकाया पार्टीका काममा खासै सक्रिय पनि थिएनन् । उसै त उनी क्यापसमा अध्यापन गराउनु हुँदो रछ । त्यो हामीलाई पछि आएर थाहा भयो । त्यो नितान्त हाम्रो पार्टीको निति विपरित थियो । त्यस लगत्तै उनलाई निलम्बन गरिसक्यौँ । उनलाई निलम्बन गरेको पनि झण्डै ४ महिना भयो ।’ जनता मिडियासँग उनले भने ।
रनसुर रोकाया सभापति हुनुभन्दा अघि करिब ७ महिना मोहन रोकायाले सभापति भएर पार्टी चलाएका थिए । उनी पनि काम गर्न नसक्ने र पारिवारिक कारणले गर्दा पार्टीका कार्यक्रममा समय दिन नसक्ने भनेपछि पार्टी नेतृत्वबाट निलम्बित भएका थिए ।
अहिले जिल्ला उप-संयोजक मनोज बोहोराले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।







