साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

जनता संवाददाता
२०८२ भाद्र १४ गते, शनिबार

काठमाडौँ । कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।

शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले अविजित एक सय एक रन बनाए ।

उहाँले एक सय दुई बलमा नौ चौकाको सहयोगमा सतक प्रहार गरेका हुन् । यस्तै सोमपाल कामीले अविजित ३८ रन बनाए । बलिङमा साउथ अस्ट्रेलियाका लागि मेन्जिजले चार विकेट लिए । म्यानेन्टीले तीन विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको थियो । गुलसन झाले ३६ र कुशल भुर्तेलले २८ रन बनाए ।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए । यस्तै दुवित हुगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन जोडे ।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले तीन तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक एक विकेट झारे ।

नेपाल यसअघि नेपालले साउथ अस्ट्रेलियासँगको दुई वटा टी–२० अभ्यास खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध दुईै वटा टी–२० अभ्यास खेलमा दुवै जित हात पारेको थियो ।

टप एन्ड टी–२० सिरिज खेल्ने अस्ट्रेलिया पुगेको नेपालले सिरिजपछि अभ्यास खेल खेलेको हो । ११ टोली सहभागी सिरिजका नेपाल समूहचरणबाटै बाहिरिएको थियो ।

नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते, शनिबार


Scroll to Top

Janata Media