जुम्लामा ५० करोड लगानीको सुविधायुक्त रङ्गशाला निर्माण गरिने

जनता संवाददाता
२०७९ पुष २० गते, बुधबार

जुम्ला । जुम्लामा खेलकुदको सम्भावना भएपनि अभ्यास र आयोजना गर्नका लागि उपयुक्त स्थान (रङ्गशाला) नहुँदा खेल क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन । आयोजना तथा अभ्यासका लागि सुविधायुक्त (रङ्गशाला) नहुँदा नयाँ खेलाडी उत्पादन र पुराना खेलाडीलाई स्थापित गर्न मुस्किल भएको छ ।

जुम्लाका धावक हरि बहादुर रोकायाले दशकौँ सम्म बर्खाको हिलो र हिउँदको धुलो तथा हिउँमै अभ्यास गरेर विश्व कीर्तिमानी (गिनिज बुकमा) नाम लेखाउन सफल भए । रोकायाको सफलतासँगै जुम्लामा एथेलेक्टिक्स तर्फ युवाको क्रेज ह्वात्तै बढ्यो । भने फुटबलको क्रेज पनि उत्तिकै बढेको देखिन्छ ।

तर अभ्यास गर्ने स्थान नहुँदाका पिडा नयाँ पुस्ताका खेलाडीहरूले अझै भोगिरहेका छन् । जुम्लाका सुनमाया बुढा,दुर्ग बुढा लगायतका विश्व च्याम्पियन खेलाडी समेत जुम्लामा उत्पादन भइसकेको अवस्थामा अझै रङ्गशाला निर्माण नहुँदा खेलाडी चिन्तित थिए

जुम्लाका खेलाडी, प्रशिक्षकहरूले संघ प्रदेशमा रङ्गशाला निर्माणका लागि गुहार मागेको कुनै निकाय बाँकी छैन । तर आश्वासनमै वर्षौ बितेपनि रङ्गशाला निर्माण टुङ्गो लागेन । जसका कारण खेलाडीहरू निरास हुनुका साथै, कष्टका साथ अभ्यास गर्न बाध्य थिए । तर अबको दुई वर्षपछि जुम्लामा सुविधायुक्त रङ्गशाला भन्ने कुराले खेलाडीहरू उत्साहित छन् ।

५० करोडमा रङ्गशाला बन्ने
जुम्लाको खेल क्षेत्रको उजागर, खेलाडीको प्रोत्साहन र खेलाडीका समस्यालाई मध्यनजर गर्दै जुम्लामा सुविधायुक्त अत्याधुनिक रङ्गशाला निर्माण हुने भएको छ । जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिका वडा नं ५ स्थित (राजसिम)मा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण हुने भएको हो ।

रङ्गशाला नहुँदा खेलाडीहरूले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । जिल्लास्तरीय विभिन्न खेलकुद आयोजना गर्ने व्यवस्थित ठाउँ छैन । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले भन्नुभयो,“प्रदेशकै नमुना रङ्गशाला निर्माण हुदैछ । ५० करोड लगानीमा बन्ने रङ्गशालाका लागि सोमबार टेण्डर समेत आह्वान भइसकेको छ । अबको २ वर्षमा सुविधायुक्त रङ्गशाला सहितका अन्य संरचना निर्माण हुने छन् । भने खेल क्षेत्रमा देखिएका तमाम समस्याको अन्त्य हुने छ ।”

‘सघन सहरी विकास कार्यक्रम’ अन्तर्गत चन्दननाथमा ठुलो लगानीमा रङ्गशाला बन्न लागेको हो । कुल ५० करोड लगानी मध्य १३ करोड लागतमा रङ्गशाला निर्माण हुने छ । भन्ने बाँकी ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना बन्ने छन् ।

जुम्लाका लागि रङ्गशाला निर्माणलाई प्रदेश गौरवकै आयोजनाका रुपमा समेत हेरिएको छ । यसले जुम्लाको खेल क्षेत्रमा देखिएका तमाम समस्याको समाधान गर्ने,नयाँ खेलाडी उत्पादन हुनेमा अपेक्षा गरिएको छ । वर्षौँदेखि रङ्गशाला निर्माण हुने भनिएपनि बल्ल उक्त कार्यले मूर्त रूप पाएको छ ।

रङ्गशाला निर्माणसँगै जुम्ली खेलाडीले हिउँद धुलो तथा हिउँ र बर्खामा हिलोमा अभ्यास गर्नुपर्ने,विभिन्न खेलको आयोजना गर्न स्थान अभावले भौँतारिनु पर्ने बाध्यताको अन्त्य हुने सव–इन्जिनियर खड्काको भनाई छ ।

अन्य केके बन्दैछन् संरचना ?
५० करोड लगानीमा दुई वर्ष भित्र निर्माण हुने अत्याधुनिक रङ्गशाला भित्र विभिन्न ११ वटा संरचना निर्माण हुने छन् । बाहिर निर्माण हुने अन्य संरचनाले खेलको क्षेत्रकै विकासमा जोड दिइने छ । जस अन्तर्गत पहिलो विश्व कीर्तिमानी धावक ‘हरि बहादुर रोकाया’ रङ्गशाला निर्माण हुने छ । त्यस्तै रानी ताल पार्क निर्माण, चन्दननाथ नगरपालिका अगाडि सटर निर्माण, चन्दननाथ ८ को पक्की वडा कार्यालय भवन निर्माण,जुम्ला बजारमा कटिङ ढुङ्गा छाप्ने काम हुने छन् ।

त्यस्तै, कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु, कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्ग देखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाईपालादेखि भण्डारी वडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायतका ११ वटा संरचना रङ्गशाला सँगसँगै निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जानकारी दिएको छ ।

साथै, सघन सहरी विकास कार्यक्रम अन्तर्गत नै डोल्पाको ठुली भेरी नगरपालिकामा २५ करोड लागतमा रङ्गशाला र सडक, त्रिपुरासुन्दरी नगरपालिकामा २५ करोड लागतमा सडक,पार्क र गेष्टहाउस निर्माण हुने सव–इन्जिनियर चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकोटको राष्टकोट नगरपालिकाको आरसिपी बजामा २० करोडमा ३० वटा सटर निर्माण हुने छन् ।

माथिल्लो कर्णालीका सहित ८ जिल्ला कार्यक्षेत्र रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले चालु आव मा सडक भवन लगायतका २५ वटा आयोजना निर्माण गरिरहेको छ ।

खेलाडी उत्साहित
जुम्लामा सुविधायुक्त रङ्गशाला निर्माण हुने भएपछि खेलाडी उत्साहित भएका छन् । विश्व कीर्तिमानी धावक हरि बहादुर रोकाया भन्छन्,“वर्षौँदेखि रङ्गशाला निर्माण हुने भनिएपनि पूर्णता पाएको थिएन् । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको ५० करोड लगानीमा रङ्गशाला बन्ने कुराले उत्साहित छौ ।”

अब दुई वर्षपछि नियमित अभ्यासका लागि भोग्दै आएका समस्याहरूको अन्त्य हुने उहाँको अपेक्षा छ । धुलो माटोमा अभ्यास गराउनु पर्ने, मैदान अभावमा खेलकुद आयोजना नै कम हुने त्यस्ता समस्याहरू रङ्गशाला निर्माणपछि अन्त्य हुनुका साथै नयाँ खेलाडीहरू समेत उत्पादन हुनेमा कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीको अपेक्षा छ ।

रङ्गशाला निर्माण हुने भएपछि जुम्लाका फुटबल, एथेलेक्टिक्स लगायत सबै विधाका खेलाडी उत्साहित भएका छन् ।

प्रकाशित मिति : २०७९ पुष २० गते, बुधबार


Scroll to Top

Janata Media