पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

जनता संवाददाता
२०७९ पुष २१ गते, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिदैँ प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।

आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ । निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ ।

निगमले रु १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परे पनि अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते, बिहीबार


Scroll to Top

Janata Media