सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य चौकीलाई ल्यापटप वितरण

जनता संवाददाता
२०७९ पुष २२ गते, शुक्रबार

दाने बोहरा, हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो मातहातमा रहेका स्वास्थ्य चौकीका संयोजकलाई ल्यापटप वितरण गरेको छ । प्रविधिका सामान प्रयोग गर्नुका साथै स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवाको उक्त सामग्रीले रिपोर्टिङ गर्न सहज बनाउनका लागि सहयोग गरिएको हो । उक्त सामग्रीमा ल्यापटप र ट्याबलगायत छन् ।

गाउँपालिकाबाट ल्यापटप र ट्याब उपलब्ध भएपछि काम गर्न सहज हुने भएको सिमकोट गाउँपालिका(७ डाडाफयाँ स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताए । स्वास्थ्य चौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएको बेला स्वास्थ्य चौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने भएको संयोजक बोहराले बताए ।

उक्त स्वास्थ्य चौकीले एकरएक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए । स्वास्थ्य चौकीले आफ्नो प्रगति विवरण कम्प्युटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ अनिवार्य गर्नुपर्ने भएकाले स्वास्थ्य चौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भण्डारीले अहिले बताए ।

पालिकामा रहेका चार वटा स्वास्थ्य चौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्य चौकीलाई आठ वटा ल्यापटप र ट्याब प्रदान गरिएको हो । यसअघि स्वास्थ्य चौकीलाई ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न कठिन हुने गरेको थियो । भने अब सहज हुने भएको छ । सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा इन्टरनेट सेवासमेत गाउँपालिकाले जडान गरेको छ । त्यसैगरी, स्वास्थ्य शाखाले १३ जना नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टर्चलाइट पनि प्रदान गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष २२ गते, शुक्रबार


Scroll to Top

Janata Media