कर्णवीर सार्की, बाजुरा । बाजुराको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा अन्तर्गत रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा निरिक्षण अधिृकत लोकेन्द्रबहादुर विष्टको नेतृत्वको टोलीले हिमाली गाउँपालिकाको धुलाचौर बजार र जगन्नाथ गाउँपालिकाको पिलुचौर बजारको अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराको टोलीले बजारमा रहेका म्याद गुज्रेका, अखाद्य वस्तु र बजारमा बिक्री हुने दैनिक उपभोग्य सामग्रीको मूल्यको अवस्थाको अनुगमन गरिएको हो ।
निरिक्षण अधिकृत विष्टका अनुसार बजार अनुगमनका क्रममा हिमाली गाउँपालिकाको धुलाचौर बजारबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान सहित आठ हजार ३२० रुपैया बराबरको अखाद्य वस्तु, जगन्नाथ गाउँपालिका–१ मा पर्ने पिलुचौर बजारमा अनुगमन गर्दा ५६ हजार ४५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो ।
जनता मिडियासँग उनले भने, ‘अनुगमनका क्रमका धैरै होटल तथा पसलहरु दर्ता नभएको, म्याद सकिएको र अखाद्य वस्तु पाईयो । यिनीहरु बरामद गरेर नष्ट गरिसकेका छौँ । यो हाम्रो पहिलो अनुगमन पनि हो । फेरी पनि अनुगमनमा आउँछौँ । त्यस बेलासम्म दर्ता नभएमा वा म्याद गुज्रेका सामानहरु भेटिए खारेज नै गछौँ ।’
बजार अनुगमनका क्रममा चिउरा, विस्कुट, सुजी, तेल, माउण्टेन ड्यु, मेरिण्डा, मिठाई लगायतका अखाद्य वस्तु बरामद गरिएको छ । बरामद गरिएको अखाद्य वस्तु अनुगम टोलीले जलाएर नष्ट गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले बताएका छन् ।