चिनमा नयाँ राष्ट्रपतिका लागि सी जिनपिङ निर्वाचित

जनता संवाददाता
२०७९ फाल्गुन २६ गते, शुक्रबार

काठमाडौं । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी चिनपिङ निर्विरोध निर्वाचित भएक छन् । चीनमा जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले उनलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो ।

महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहोर्याए।

त्यसैगरी, महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।

यसैबीच अमेरिकी समाचार समिति एशोशिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित हुनुभएको टिप्पणी गरेको छ । उनले दुई हजार नौ सय ५२ मत प्राप्त गरेको तथा उनको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बन्नुभएको हो । संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उनी सत्तासिन भएका हुन्।

गोप्यरुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते, शुक्रबार


Scroll to Top

Janata Media