दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

जनता संवाददाता
२०७९ पुष २३ गते, शनिबार

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक बालक वेपत्ता भएका छन् । स्थानीयका अनुसार ब्याँस गाउँपालिका–४ डोकटका १० वर्षिय बालक दिपेन्द्र विष्ट नेपालबाट भारत जाने क्रममा महाकाली नदीमाथि लगाइएको तुइनबाट खसेर बेपत्ता भएका हुन् । स्थानीयका अनुसार यो समयमा नेपालको ब्याँस गाउँपालिकाको सो क्षेत्रका स्थानीयहरु खर काट्न भारतको वनहरुमा जाने गरेका छन् ।

शुक्रबार खर काट्न भारततर्फको वनमा आमासंगै जानेबेला ती बालक तुइनबाट खसेको खबर प्राप्त भएको छ । दिपेन्द्र कम्मरमा बाध्ने ताङ्लो नबाधी नै गएको तथा भारत तर्फ पुग्नै लाग्दा तुइनबाट खसेको बताइएको छ ।

सो घट्नाबारे अहिले सम्म प्रहरीमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा तुइनबाट खसेर हाल सम्म दुई दर्जन भन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०७९ पुष २३ गते, शनिबार


Scroll to Top

Janata Media