गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

जनता संवाददाता
२०७९ पुष २५ गते, सोमबार

काठमाडौँ । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।

सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् ।

आइतबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सातवटै प्रदेशको प्रमुख तीन पदको भागबण्डा टुंग्याएका थिए । त्यस अनुसार गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ । सभामुख माओवादीले र उपसभामुख एमालेले लिनेछ ।

प्रदेश प्रमुखले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेसँगै खगराजले छलफल तथा हस्ताक्षर संकलनको तयारी थालिसकेका थिए । गण्डकीका सत्तारुढ गठबन्धनमा सामेल ३ दलले प्रदेशको भागबण्डा टुंगो नलागे पनि मुख्यमन्त्री दाबी पेश गर्न सबैजसो तयारी आइतबारै सकेका थिए । दलहरु हस्ताक्षर संकलन सकेर आइतबारै तम्तयार थिए ।

एमालेले सरकारको नेतृत्व गरेपछि ६० सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्ने भएको छ । मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका राजीव गुरुङ (दीपक मनाङे)ले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २०७९ पुष २५ गते, सोमबार


Scroll to Top

Janata Media