काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा बु्धबार आयोजक नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् ।
सातदोवाटोस्थित एन्फा मैदानमा फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने दुवै टोलीका प्रशिक्षकको बुझाइ छ । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बङ्गलादेशले साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।
तीन पटकको विजेता भारतलाई हराएको बङ्गलादेश उच्च मनोबलमा रहेको छ । यता समूह चरणका बङ्गलादेशलाई २–१ गोलले हराएको नेपाल घरेलु मैदानको फाइदा बटुल्दै पुनः बङ्गलादेशलाई फाइनलमा स्तब्ध बनाउने तयारीका छ ।
फाइनलअघि मङ्गलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि आफुहरु तयार भएको बताए । नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल पुग्दे दुवै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए ।
‘‘हामीले समूह चरणदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका छौँ । अपराजित रहँदै उपाधि जित्ने हाम्रो योजना हो । फाइनलका लागि हामी तयार छौँ । बङ्गलादेश पनि राम्रो खेलिरहेको छ । फाइनलमा जस्ले राम्रो खेल्छ । उपाधि उसैको हुनेछ,’’ उर्जनले भने ।
यस्तै बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनल यात्रासम्म आइपुग्दा उतारचढाव बेहोरेको बताए । ‘‘हामी कठिन यात्रा तय गरेर फाइनलमा आएका छौँ । नेपाल बलियो टोली हो । घरेलु मैदानको फाइदा उसलाई धेरै छ । तरपनि हामी फाइनलका लागि तयार छौँ,’’ हकले भने ।
पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।
दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गरेका थिए ।