हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँ सभामार्फत हालसम्म भएको आयव्ययको प्रस्ताव गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकायाद्वारा सर्वसम्मत रूपमा पारित गरेको हो।
उपाध्यक्ष रोकायाले गाउँपालिकाको हालसम्मको आम्दानी ५७ करोड ८५ लाख ९७ हजार ४०५ रुपैयाँ रहेकामा पुुस २२ गतेसम्मको खर्च १३ करोड ६९ लाख ५७ हजार ६४१ रुपैयाँ खर्च भएको प्रस्ताव सभामा पेस गरेकि थिईन्।
गाउँसभाका सभामुख एवं गाउँपालिका अध्यक्ष विजय भण्डारीले उपाध्यक्ष रोकायाले पेस गर्नुभएको आयव्ययको प्रस्तावलाई पारित गरियोस् भनेर प्रस्ताव राखेका थिए। गाउँपालिकाले ६ महिनाको अवधिमा २३ दशमलव ६७ प्रतिशत वित्तीय प्रगति भएको विवरण सभामा पेश गरेको थियो।
चौबीस कानुन पारित
सिमकोट गाउँपालिकाको हिउँदे गाउँ सभाले २४ वटा ऐन कानुन पारित गरेको छ। सोमबार बसेको गाउँसभामा विधान समितिले पेस गरेका तीन कानुनमाथि छलफल गर्दै पारित सभाका सदस्यहरूले पारित गरेका हुन्।
गाउँपालिका अध्यक्ष भण्डारीका अनुुसार हिउँदे गाउँसभाद्वारा विभिन्न २४ वटा कानुन पारित गर्न सफल भएको छ। विधान समितिका संयोजक कार्यपालिकाकी सदस्य काङ्सो लामाद्वारा सभामा प्रस्तुुत भएको ती कानुन सर्वसम्मत पारित गरिएका हुन्।
यसरी सभाद्वारा पारित भएको कानुनमा खानेपाली सरसफाइ स्वच्छता सूचना व्यवस्थापन प्रणाली निर्देशिका, सुरक्षित खानेपानीयुक्त समुदाय पोषण निर्देशिका, सिमकोट गाउँपालिका अनुुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, सिमकोट गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन, सिमकोट गाउँपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि, गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि, त्रिवर्षीय क्षमता विकास योजना, बालबालिकासम्बन्धी ऐन, फोहोर–मैला व्यवस्थापन कार्यविधि, स्थानीय पूर्वाधार मर्मत सम्भार कोष तथा कार्यसञ्चालन कार्यविधि छन्।
त्यसैगरी, सभाद्वारा पारित भएका अन्य कानुनमा स्थानीय पूर्वाधार विकास आयोजना सञ्चालन कार्यविधि, मध्यकालीन खर्च संरचना, वातावरण तथा सामाजिक जोखिम प्रभाव अध्ययन दिग्दर्शन, सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार्यविधि, विधान समिति गठन तथा सञ्चालन कार्यविधि, लेखा समितिको कार्य सञ्चालन कार्यविधि, प्रथम आवधिक योजना, बालमैत्री स्थानीय शासन कार्यान्वयन दिग्दर्शन, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, स्थानीय राजपत्र निर्देशिका र रैथाने बाली संरक्षण तथा व्यवस्थापन कार्यविधि छन्। ती कानुन सबैलाई २०७९ नाम दिइएको छ। सभाद्वारा पारित ऐन कानुनमाथि सभाका सदस्यहरूले छलफल समेत गरेका थिए।
त्यस लगत्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले सभाबाट पारित भएको कानुन राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यान्वयनमा ल्याउने बताए।