कर्णाली करिडोर त्रिदेशीय व्यापारिक मार्ग बन्छ: प्रधानमन्त्री

जनता संवाददाता
२०८२ असार २२ गते, आईतवार

हुम्ला। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारत जोड्ने महत्वपूर्ण त्रिदेशीय व्यापारिक मार्गको रूपमा विकास गरिने घोषणा गरेका छन्।

हुम्लाको खार्पुनाथ गाउँपालिका-५, चुवाखोलामा निर्मित बेलीब्रिजको उद्घाटन गर्दै उनले यो करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारका लागि एक रणनीतिक पूर्वाधार भएको बताए।

‘यो पुलले केवल हुम्लालाई जोडेको छैन, यसले नेपाललाई दुई विशाल छिमेकीसँग जोड्ने ढोका खोलेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो व्यापारिक मार्गलाई तत्काल दुई लेनमा स्तरोन्नति गरिनेछ र कालोपत्रेको काम अघि बढाइनेछ।’

उनले छिमेकी मुलुक चीनसँगको व्यापारलाई सहज बनाउन हिल्सा नाकामा तत्काल क्वारेन्टाइन स्थापना गरिने प्रतिबद्धता व्यक्त गरे।

‘यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले कुनै कमी हुन दिनेछैन,’ उनले थपे।

नेपाली सेनाद्वारा निर्मित उक्त बेलीब्रिजको उद्घाटनसँगै कर्णाली करिडोरले उत्तर र दक्षिणतर्फको अन्तरदेशीय सडक सञ्जालमा जोडिने महत्वपूर्ण आधार तयार पारेको छ। जसले समग्र राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ असार २२ गते, आईतवार


Scroll to Top

Janata Media