रुपन्देही । रुपन्देहीको देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा माघ १४ गते देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो ।
देवदहमा पत्रकार भेटघाटको आयोजना गर्दै उक्त प्रतियोगिताको विषयमा जानकारी गराइएको हो ।लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष राहुल देव सापकोटाले देवदहका पर्यटकीय, ऎतिहासिक र धार्मिक क्षेत्रको प्रचारप्रसार, युवाहरुलाई खेलकुद संगै सामाजिक उत्तरदायित्व बोध गराउंदै सामाजिक संघ संस्थामा आबद्द गराउने साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
विगतमा कोभिड संक्रमणका बेला बाहेक नियमित रुपमा म्याराथन प्रतियोगिता भएको अवगत गराउंदै सँस्थाका पुर्व अध्यक्ष दिपेश बिक्रम मल्लले म्याराथन प्रतियोगिताले देवदहलाई देश र विदेशमा समेत चिनाउन सहयोग पुगेको बताए । म्याराथनको माध्यम बाट देवदहको पर्यटकीय क्षेत्रको प्रचार प्रसार, अर्थतन्त्र थोरै भए पनि चलायमान हुने विश्वास लिएको मल्लले बताए ।
देवदहको बुद्दचोक सुरुवात बिन्दु रहेको म्याराथन प्रतियोगितामा देवदहको ऎतिहासिक, पर्यटकीय र धार्मिक स्थल भवानीपुर, पाकारी, बैरीमाइ, कन्यामाइ, मायादेवी एसोधारा लगायत पार्क समेटी १६ किलोमिटरको दुरी तय गरिएको म्याराथन प्रतियोगिता संयोजक बिबेक जंग कार्कीले बताए ।
प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष धावकले जनही २५-२५ हजार, द्वितीयले जनही १५-१५ हजार र तृतीय हुनेले जनही १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।
म्याराथन प्रतियोगितामा सहभागिता हुन चाहाने प्रतियोगीले अनलाइन, फोन सम्पर्क तथा बिभिन्न दर्ता स्थल बाट नाम टिपाएर सहभागी हुन सक्ने क्लबले जनाएको छ ।